वीरगञ्जमा कोरोना सङ्क्रमणको त्रासः चिकित्सकसहितको विज्ञ टोली पठाउन माग

रासस

विहीबार, १५ साउन २०७७, २० : ५६
वीरगञ्जमा कोरोना सङ्क्रमणको त्रासः चिकित्सकसहितको विज्ञ टोली पठाउन माग

फाइल तस्विर

–वीरेन्द्र कर्ण

पर्सामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि यहाँका समाजसेवी तथा राजनीति दलका प्रतिनिधिले चिकित्सकसहितको विज्ञ टोली तत्काल वीरगञ्ज पठाउन माग गरेका छन् । 

जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन अत्यधिक बढ्दै गइरहेकामा गम्भीर चिन्ता व्यक्त गर्दै उनीहरुले विज्ञ टोलीमार्फत सङ्क्रमण नियन्त्रण र सङ्क्रमितको व्यवस्थापन गरी दिन सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयसँग आग्रह गरेका छन् । पर्सा र बारामा बुधबार मात्रै चिकित्सक, स्वास्थ्यकर्मी, नेपाली सेनालगायत ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

आज बसेको जिल्लाका प्रमुख राजनीतिक दल नेपाली काँग्रेस, जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षलगायत प्रदेश सांसद, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष र सामाजिक अभियन्तासहितको सर्वपक्षीय बैठकले पाँच बुँदे निर्णय गर्दै यस्तो माग गरेको छ । निर्णयको पहिलो बुँदामै कोरोना महामारी नियन्त्रण गर्नका लागि विज्ञ टोली वीरगञ्ज पठाउन माग गरिएको जसपाका युवा नेता ओमप्रकाश सर्राफले बताउनुभयो ।

वीरगञ्जमा कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दै गएपछि अहिले १०० भन्दाबढी सङ्क्रमित घरकै आइसोलेशनमा रहेका छन् । पचास श्ययाको कोरोना विशेष अस्थायी अस्पताल गण्डकमा ६० जनाभन्दा बढी सङ्क्रमितलाई राखिएको छ । लक्षणसहितका सङ्क्रमित बढी देखिएकाले अवस्था जटिल बन्दै गएको जनस्वास्थ्य विज्ञ बताउँछन् । 

बैठकले अरु पनि निजी अस्पताललाई लिएर कोभिड अस्पताल बनाउन सङ्घीय सरकारसँग माग गरेको छ । बैठकले नारायणी अस्पतालको बन्द रहेको सेवालाई सुरक्षा अपनाएर सञ्चालन गर्नुपर्ने, वीरगञ्जमा विद्युतीय शवदाह गृह स्थापना गर्न पहल गर्ने निर्णय पनि गरेको छ । कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शवदाहमा समस्या देखिएकाले शवदाहमा कसैले विरोध नगरिदिन बैठकले सबैमा अनुरोध गरेको छ ।

वीरगञ्ज कारागार सिल
वीरगञ्ज कारागारमा एक महिलासहित आठ जनामा कोरोना सङ्क्रमण भेटिएपछि कारागार सिल गरिएको कारागार प्रमुख (जेलर) श्रवणकुमार पोखरेलले बताउनुभयो । सङ्क्रमित कैदीबन्दीलाई कारागारको हाताभित्र स्थापना गरिएको आइसोलेशन कक्ष (उपचार केन्द्र) मा तथा कर्मचारीलाई समता स्कुलमा स्थापना गरिएको आइसोलेशन कक्षमा उपचार भइरहेको छ । 

एक जना महिला कैदीबन्दीलाई उनकै कोठामा आइसोलेशन बनाएर उपचार भइरहेको जनाइएको छ । अहिले कारागारभित्र प्रशासनिक काम बाहेक सबै काम बन्द रहेको छ । कारागारभित्र कोरोनाको उच्च जोखिम बढेपछि कैदीबन्दीहरुको सम्पर्कमा आएको उनका आफन्तको स्वाब परीक्षण गर्न उनीहरुको खोजी भइरहेको कारागार प्रशासनले जनाएको छ । 

हाल कारागारमा महिला पुरुष तथा आश्रित बालबालिका गरी एक हजार २१४ कैदीबन्दी छन् । ती कैदीबन्दीलाई अहिले अदालतमा उपस्थित गराउने काम बन्द रहेको जनाइएको छ । कारागारमा सबैभन्दा बढी भारतीय कैदीबन्दी भएकाले भारतीय कैदीबन्दीलाई भेट्न आउँदा कोरोना सङ्क्रमण सर्न सक्ने आशङ्का कारागार प्रशासनले गरेको छ ।  

कारागारमा भारतीय कैदीबन्दी बढी रहेको र भारततर्फ कोरोना सङ्क्रमण बढी देखिएकाले कारागार अहिले कोभिड–१९ को उच्च जोखिममा रहेको छ । यसलाई दृष्टिगत गरेर कैदीबन्दीको आफन्तले ल्याउने कोसेली कारागारका कर्मचारीले पु¥याउने काम बन्द गरिएको छ । 

कारागारमा कोरोना सङ्क्रमित भेटिएपछि अन्य कैदीबन्दीलाई सङ्क्रमण नपरोस् भनेर कारागार प्रशासनले कारागार सिल तथा भेटघाट बन्द गरिएको छ । 

प्रतिक्रिया दिनुहोस