प्रचण्डको अध्यक्षतामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक सुरु

सफल खबर संवाददाता

मंगलबार, १३ साउन २०७७, १४ : ००
प्रचण्डको अध्यक्षतामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक सुरु

फाइल फोटो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा भर्खरै सुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रुपमा बैठक स्थगित गरेपनि प्रचण्डसहितका नेताहरुले त्यसलाई अस्वीकार गर्दै बैठक बसेको हो । 

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा ओलीसहित उनी निकटका स्थायी समिति सदस्यहरुको सहभागिता रहेको छैन । यद्यपी स्थायी समितिमा रहेका बहुसंख्यक सदस्यहरुको सहभागिता रहेको छ । 

बैठकअघि प्रधानमन्त्री ओलीसँग प्रचण्डसहित झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले छलफल गरेका थिए  । तर कुरा नमिलेपछि प्रचण्डको अध्यक्षतामा बैठक बसेको हो । 

बैठक सुरु हुनुअघि प्रचण्डले स्थायी समिति सदस्यहरुसँग आन्तरिक छलफल समेत गरेका थिए भने सो क्रममा प्रचण्डले  बैठक स्थगितबारे आफूलाई कुनै जानकारी नरहेको बताएको एक नेताले रातोपाटीलाई जानकारी दिए ।

पार्टीभित्र विवाद चर्किँदै जाँदा ओलीले अर्का अध्यक्ष प्रचण्डसहितका अन्य कुनै नेताहरुसँग परामर्श नगरी स्थगित गरेका थिए । 

प्रचण्डसहितका नेताहरुले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पद छाड्नुपर्ने माग राखेपछि नेकपाभित्र विवाद चर्किएको छ । 

प्रतिक्रिया दिनुहोस