‘पार्टी भित्रको समस्या समाधान अब स्थायी समितिबाटै निर्णय हुन्छ’ : प्रचण्ड

दुई अध्यक्षका बीचमा मात्रै अल्झिएर नबस्ने अब स्थायी समितिबाटै डिसिजन गरेर जाने

सफल खबर संवाददाता

सोमबार, १२ साउन २०७७, ०९ : १४
‘पार्टी भित्रको समस्या समाधान अब स्थायी समितिबाटै निर्णय हुन्छ’ : प्रचण्ड

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अब पार्टी स्थायी समिति बैठकबाटै समस्या सुल्झाउने बताएका छन् । पार्टीका कर्णाली प्रदेशका नेताहरुलसँग आइतबार साँझ आफ्नै निवास खुमलटारमा छलफल गर्दै प्रचण्डले अब दुई अध्यक्षका बीचमा मात्रै अल्झिएर नबस्ने र स्थायी समितिबाटै डिसिजन गरेर जाने बताएका हुन् । 

अब पनि दुई अध्यक्षका बीचको छलफल, यताउता भन्ने हुदैन, स्थायी समिति १३ गतेबाट नियमिततामा फर्किन्छ, त्यहाँ रहेका छलफलका एजेण्डामा नै अगाडी बढ्छ, विधि प्रक्रिया अनुसार नै अगाडी बढ्छ, प्रचण्डले भने । प्रचण्डले सरकार र पार्टी मध्ये एउटाको नेतृत्व ओलीले नछोडेसम्म समस्या समाधान नहुने भन्दै आफुहरु त्यही दिशामा अडिग रहेको बताएका हुन् । पार्टीभित्रको संर्घष अब फरक ढंगले गयो, परिवर्तनको एजेण्डा धरापमा पर्ने देखियो, समावेशीतालाई ब्यवहारमा लागु नगर्ने समस्या देखियो ।

पार्टी एकताको मूल मर्म र भावना विपरित प्रधानमन्त्री चल्न खोज्नुभयो, एकताको स्पिरिट अनुसार पनि उहाँ जान खोज्नुभएन, सरकारबाट पनि अब परिवर्तनको एजेण्डा बोेकेर हिड्ने अवस्था देखिएन, प्रचण्डको भनाई उदधृत गदै छलफलमा सहभागी एक नेताले भने, अब पनि प्रधानमन्त्रीमा रुपान्तरणको अपेक्षा गर्नु गल्ती हुन्छ । उहाँमा त्यसको कुनै गुन्जायसै छैन् । 

ओलीले पार्टीमा समानान्तर गतिविधि शुरु गरेको बताउदैं उनले त्यसले पनि पार्टीलाई झस्काएको बताए । पार्टी स्थायी समिति बठक बसिरहेका बेला तल सडकमा प्रर्दशन गर्न लगाउने र आफ्नै पार्टीका अर्का अध्यक्ष र नेताहरुका विरुद्ध विषवमन गर्न लगाउने काममा प्रधानमन्त्री लाग्नुभएको छ, उहाँमा मिल्ने, मिलाउने तिर भन्दा पनि यस्तै ढर्राले चल्दै चलाउने तिर मात्र सोच देखिन्छ, यो अब सहैय छैन, प्रचण्डले भने । 

प्रचण्डले विचारको कुरा नै अहिले पार्टीभित्र देखा परेको मुख्य समस्या भएको पनि बताए । उनले अब विचारको बहसमा पनि नयाँ ढंगले संश्लेषण गरेर समाजवादी कार्यदिशा बनाउनु पर्नेमा वरिष्ठ नेता माधव नेपालसँग कुरा मिल्दै जान थालेको पनि बताए । जबज र २१ औं शताब्दीको जनवादमा उल्लेखित विषयको उच्च मूल्याकंन गर्दै अब ति कार्यक्रमका पक्षलाई पनि लिएर नयाँ ढंगले समाजवादमा पुग्ने कार्यदिशा तय गरेर जानुपर्छ भन्नेमा माधव कमरेड र मेरो बीचमा छलफल चलिरहेकै छ, नयाँ बहस गरेर जानुपर्छ भन्नेमा हामी एक ठाउँ छौं, प्रचण्डले भनेका थिए । नेकपाको स्थायी समिति बैठक भोलि १३ साउनमा बोलाईएको छ ।

६ गते एक्कैछिन बसेर बैठक स्थगित भएपनि यो बेलासम्म दुई अध्यक्षको सम्वाद भने पातलिएको छ । ९ साउनमा दुई घण्टा बालुवाटारमा छलफल भएपनि त्यसयता सम्वाद टुटेको छ । आज छलफल हुन सक्ने भएपनि त्यसको पनि कुनै टुंगो भने लागिसकेको छैन् । ओली पक्ष सहमतिमा नआएपनि अब पार्टीको बैठकबाटै अगाडी बढनुपर्ने र विधानको ब्यवस्था अनुसार नै अगाडी जानुपर्नेमा प्रचण्ड र नेपाल सहमत देखिएका छन् । यस अर्थमा ओलीले कुनै नयाँ फन्डा अगाडी नसारे भोलिको स्थायी समिती बैठक अगाडी बढने तिर नै जाने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस