तरकारीको मूल्य सातामै दुई गुणा वृद्धि , बाढीपहिरोको बहानामा उपभोक्ता मारमा

पत्रपत्रिकाबाट

आइतबार, ११ साउन २०७७, ०७ : २१
तरकारीको मूल्य सातामै दुई गुणा वृद्धि , बाढीपहिरोको बहानामा उपभोक्ता मारमा

फाइल फोटो

काठमाडौं । वर्षा र बाढीको बहाना बनाएर बिचौलियाले हरियो तरकारीको मूल्य सात दिनमै दोब्बर बढाएका छन् । किसानबाट प्रतिकिलो १५–२० रुपैयाँमा किनिएको तरकारी बिचौलियाले ६० देखि ७० रुपैयाँमा बिक्री गर्दै आएका छन् ।

बिचौलियाले बर्सेनि वर्षा र बाढीको बहानामा हरियो तरकारीको मूल्य दोब्बर बढाएर उपभोक्तालाई ठग्दै आएका छन् । केन्द्र सरकार र स्थानीय तहबाट बजार अनुगमन नहुँदा बिचौलियाले बर्सेनि बाढीपहिरोको बहानामा हरियो तरकारीको मूल्य दोब्बर–तेब्बर बढाएर उपभोक्ता ठग्दै आएको राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले बताए ।

उनले भने, ‘साता दिनदेखि पानी परेको भए पनि काठमाडौं उपत्यका आउने तरकारी रोकिएको छैन । निरन्तर बजारमा हरियो तरकारी आइरहेको छ । बाढीपहिरोले बाटो बन्द भएको छैन । पानी पर्नासाथ एक्कासि बजारमा तरकारीको मूल्य दोब्बर–तेब्बर भएको छ । यो बाढीको बहानामा बिचौलियाले खेलेको खेल हो ।’

उनका अनुसार बिचौलियाले आलु प्रतिकिलो २० रुपैयाँमा ल्याएर उपभोक्तालाई ६० देखि ७० मा बिक्री गरिरहेका छन् । उपभोक्ताले प्रतिकिलो ८० देखि ९० रुपैयाँमा बोडी किन्छन् । तर, उनीहरूले किसानबाट प्रतिकिलो १५ रुपैयाँमा बढी खरिद गर्छन् । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस