रुसले अन्तरिक्षमा हतियार परीक्षण गरेको यूके र अमेरिकाको आरोप

एजेन्सी

शुक्रबार, ०९ साउन २०७७, १३ : २८
रुसले अन्तरिक्षमा हतियार परीक्षण गरेको यूके र अमेरिकाको आरोप

बीबीसी । रुसले भू-उपग्रहमा प्रहार गर्न सकिने क्षेप्यास्त्रजस्तो हतियारको अन्तरिक्षमा परीक्षण गरेको अमेरिका र यूकेले दाबी गरेका छन्।

अमेरिकी सरकारले भू-उपग्रहलाई मार हान्न सकिने क्षमता भएको उक्त अस्त्रको प्रयोगलाई चिन्ताको विषय भनेको छ।

यसअघि रुसको रक्षा मन्त्रालयले अन्तरिक्षमा भएका रुसी उपकरणहरू जाँच्न नयाँ प्रविधि प्रयोग गरिएको जनाएको थियो। अमेरिकाले पहिला पनि अन्तरिक्षमा रुसको गतिविधिबारे प्रश्न उठाउने गरेको छ।

के भन्छन् अमेरिका र यूके ?
रुसले अन्तरिक्षमा गरेको अस्त्र परीक्षणबारे यूकेले पहिलो पटक आरोप लगाएको हो। एउटा छानबिनपश्चात् यूके सरकारले केही दिनअघि रुसी खतराबारे कम आकलन गरिएको बताएको थियो।

रुसले अन्तरिक्षमा अस्त्र नियन्त्रण गर्नुपर्ने बताएपछि बिहीवार एउटा विज्ञप्तिमा अमेरिकाको अन्तर्राष्ट्रिय सुरक्षा मामिला हेर्ने सहायक मन्त्री क्रिस्टोफर फर्डले रुसलाई आडम्बरी भएको आरोप लगाए।

“मस्को अमेरिकाको क्षमतामा अङ्कुश लगाउन चाहन्छ तर आफ्नो प्रति-अन्तरिक्ष कार्यक्रम रोक्ने उसको कुनै उद्देश्य नभएको स्पष्ट देखिन्छ,” उनले भने।

ब्रिटिश अन्तरिक्ष निर्देशनालयका प्रमुख हार्भी स्मिथले रुसले अहिले परीक्षण गरेको भू-उपग्रहको गुण “अस्त्रको जस्तो” भएको बताउँदै चिन्ता व्यक्त गरेका छन्।

“यस्ता कृत्यहरूले अन्तरिक्षको शान्तिपूर्ण प्रयोगलाई खतरामा पार्छन् र उत्पन्न फोहोरले संसार निर्भर हुने भू-उपग्रह र अन्तरिक्ष प्रणालीलाई जोखिममा पार्छ,” उनले भने। उनले रुसलाई जिम्मेवार बन्न र अब त्यस्ता परीक्षण नगर्न आग्रह गरे।

अन्तरिक्ष सन्धिमा के छ ?
रुस, यूके, अमेरिका र चीन सहित १०० भन्दा बढी राष्ट्रले बाह्य अन्तरिक्षमा शान्तिपूर्ण उद्देश्यले मात्र अन्वेषण गर्ने सहमति व्यक्त गर्दै एउटा सन्धिमा हस्ताक्षर गरेका छन्।

उक्त सन्धिअनुसार पृथ्वीको कक्ष तथा अन्तरिक्षमा कुनै अस्त्र राख्न पाइँदैन। अमेरिकाले सन् २०१८ र यो वर्षको प्रारम्भतिर एउटा रुसी अन्तरिक्ष प्रणाली अमेरिकी भू-उपग्रहनजिक पुगेको आरोप लगाएको थियो। अहिलेको घटनामा पनि उक्त प्रणाली नै संलग्न भएको अमेरिकाको दाबी छ।

के भन्छ रुस ?
अमेरिकी अन्तरिक्ष बलका प्रमुख जेनरल जे रेमन्डले रुसले “अन्तरिक्षमा भू-उपग्रह मारक अस्त्र प्रहार गरेको” प्रमाण भएको दाबी गरेका छन्।

रुसले जुलाई १५ मा नयाँ भू-उपग्रह परीक्षण गरेको थियो। त्यति बेला रुसी रक्षा मन्त्रालयले अन्तरिक्षमा भएका आफ्ना उपकरणको परीक्षण गर्ने उद्देश्य भएको बताएको थियो।

इन्टर्फ्याक्स समाचारसंस्थाका अनुसार मन्त्रालयले नवीनतम अन्तरिक्ष प्रविधि परीक्षण गर्दा एउटा सानो यानमा भएको विशेष उपकरण प्रयोग गरेर एउटा रुसी भू-उपग्रह जाँचिएको थियो। उसका अनुसार परीक्षण गरिएको वस्तुको प्राविधिक स्थितिबारे महत्त्वपूर्ण सूचना सङ्कलन गरिएको थियो।

अन्तरिक्षमा के हुँदैछ ?
बीबीसीका प्रतिरक्षा संवाददाता जोनाथन मार्कसका अनुसार अहिलेसम्म रुस, अमेरिका, भारत र चीनसँग मात्रै भू-उपग्रहमा मार हान्ने क्षमता छ।

“तर मस्कोले स्पष्ट रूपमा एउटा भू-उपग्रह प्रयोग गरेर अर्को नष्ट पार्न खोजेको छ,” उनी भन्छन्। केही देशले आफ्नो सेनामा अन्तरिक्षसम्बन्धी मामिला हेर्ने विशेष बल बनाएका छन्।

“सैन्य भाषामा भन्नुपर्दा अन्तरिक्ष नयाँ मोर्चा बनिसकेको छ,” उनी भन्छन्। उनका अनुसार त्यस्ता बलले अन्तरिक्षमा भएका आफ्नो देशका संरचनाको जोगाउन रक्षात्मक र आक्रामक दुवै काम गर्छन्।

प्रतिक्रिया दिनुहोस