Safal Khabar - नेपालमा यसरी बनाइयो ‘नेपाल कम्युनिष्ट पार्टी’
शुक्रबार, ३० साउन २०७७ (Friday, 14 August, 2020)
विस्तृतमा हेर्नुहोस् »
सन्दर्भ : नेकपाका सस्थापक नरवहादुर कर्माचार्यको सातौं स्मृति दिवस

नेपालमा यसरी बनाइयो ‘नेपाल कम्युनिष्ट पार्टी’
शुक्रबार, ०९ साउन २०७७, १० : २५
नेपालमा यसरी बनाइयो ‘नेपाल कम्युनिष्ट पार्टी’

नरवहादुर कर्माचार्य

 म १९८१ साल कार्तिक १४ गते भाईटिकाको दिन जन्मेको । नब्बे सालको भुइँचालोबारे राम्ररी याद छ । त्यतीबेला म नौ बर्षको थिएँ । म र माईलो भाई चोटामा गुच्चा खेल्दै थियौ । यत्तिकैमा हल्लाखल्ला गरेको, बुरुरु माटो झरेको र घर भत्कीएको आबाज आयो । म आत्तिएर बाहिर निस्कें  । चौरतिर दौडदै गर्दा आडैको घर हेर्दाहेर्दै ढल्यो । म ईट्टा र माटोले छपक्कै पुरिएँ  । मलाई कतै नदेखेपछि सानीमा आत्तीनुभो र मलाई खोज्न थाल्नुभो । मैले ‘हजुर हजुर’ भने । तर कसैले सुने पो !

मलाई नदेखेपछि ठुलोबा पनि खोज्न निस्कनुभएछ । मलाई सपना हो कि बिपना छुटयाउनै गार्हो भईरहेको थियो । यत्तिकैमा पल्लो चोकको महाबीर चौरतिर आउदै गर्दा ममाथी टेक्न पुगेछ । म आत्तिएर  चिच्याएँ  ।  मान्छे पुरिएको भन्ठानेर उसले यसो एकदुईटा ईट्टा पन्छाएर हेरेपछि मेरो टाउको देखेछ । त्यसपछि सबैजनाले खोस्रिएर निकाले । मेरो टाउकोमा चोट लागेको थियो । जीउ दुखिरहेको थियो । जेठाबाहरुले बोकेर बीर अस्पताल लानुभो ।

Yeti Diistillery
Tansen Cement box

बीर अस्पताल घाईतेले भरिएको थियो । देख्दै डरलाग्दो । मेरो  टाउकोमा पाँचवटा टाँका लगाए । उपचारपछि घाईतेलाई तीनधारा पाठशाला नजिकको चौरमा क्याम्प हालेर राखेको थियो । भोलिपल्ट बीर अस्पताल नलगेर मेरो मामाघरको बाजेले लैनचौरमा गोराहरुले खोलेको मिसन अस्पताल लानुभो । म कम्मर दुखेर हलचल गर्न नसक्ने भएको थिएँ । उनीहरुले बडो अचम्मको औषधी सिफारिश गरे । कम्मर र हड्डी भाचिएको छैन भन्दै दुखेको निको पार्न रक्सी र अण्डाको पहेलो भाग फिटेर दिनको तीन पटक खान भने  ।  त्यसै गरियो । टाका लाएको टाउकाको घाउ १२÷१३ दिनमै र कम्मरको चोट  २०÷२२ दिनमा निको भो ।

नौ बर्षको उमेरमा मामाघरको बाजेले दरबार हाईस्कुलमा भर्ना गर्दिनुभो । म त्यहाँ ६ कक्षासम्म पढें । बाजे असाध्यै रुखा र कडा । पढन बस्दा उनी छालाले मोरेको कोर्रा लिएर बस्थे र पढेन भने हिर्काईहाल्थे । पाटन स्कुलमा सात कक्षादेखी म्याट्रिकसम्म पढें । पाटन  स्कुलमा पढदा पुष्पलाल मेरा सहपाठी थिए । पुष्पलाल धेरै टाठा र राजनिती बुझेका मान्छे थिए । म भित्र राजनितिक चेत घुसेको १९९७ सालमा दशरथ, गंगालाल, शुक्रराज र धर्मभक्तलाई मृत्युदण्ड दिएको आफ्नै आँखाले देखेपछि हो । चारै जनालाई मृत्युदण्ड दिएको हेर्न म पुगेको थिएँ ।

पहिला मचलीमा शुक्रराजलाई झुन्डयाएको हेर्न गएथें । पछि धर्मभक्तलाई मारेको  हेर्न सिफल गईयो । हेर्दाहेर्दै आठपहरीयाले घेरिएका नरशम्शेरमाथी भीडले ढुंगा हान्यो । राणाशासन बिरुद्ध यो डरलाग्दो र रहरलाग्दो प्रतिरोध थियो । धर्मभक्तलाई  झुन्डयाएको बेला अलि अध्यारो थियो । मलाई कसैले तपाईलाई राणाहरुले यसरी मान्छे झुन्डयाएर मारेको कस्तो लाग्यो भनेर सोध्यो । ‘जाबो पर्चा छरेको निहुँमा यस्तरी मारेको निको लागेन’ भनें । तपाईहरु जस्तो नव युवक अब राणाबिरोधी आन्दोलनमा लाग्नुपर्छ उनले हौंस्याए । मैले हेरौला मात्र भनें । तर उनले मेरो दिमागमा राजनीतिको झिल्को रोप्दीसकेका थिए ।

त्यो कुरो मेरो राजनितिक जीबनको पहिलो पाठशाला थियो क्यार । गंगालाल र दशरथचन्द्रलाई मृत्युदण्ड दिएको बेलामा पनि हेर्न गए । अलिकती पिडा र अलिधेरै आक्रोश, त्यस्तै अनुभुती भाथ्यो । यसको अलिदिन पछि एकजना नचिनेको मान्छे भेट्न आए । तिनको नाम भैरबगोपाल बैद्य  रैछ । उनीहरुले प्रजातन्त्र संघ नामको पार्टी खोल्या रैछन । सदस्यता लिनपरो भने । मैले बिना आनाकानी हुन्छ भनिदिएँ । त्यसको पर्सिपल्ट मेरो काका र मलाई २ जना मान्छेले साँझतिर पाटन स्कुलको पछाडी लगे । सदस्यता पाउन असाध्यै गारो । कति सुरो रहेछ भनेर जाँच्न म र मेरो काकालाई एक एक वटा छुरी दियो र चिरेर रगत निकाल भन्यो ।

मैले तिघ्रामा चिरेर बेस्कन रगत निकाले काकाले हातमा चिर्नुभो । भएन रे ए गाठे ! सदस्यतै दिएन । भएन ! बाघै मारेर ल्याउ पो भन्छन । हामी आँटिला थियौ । हुन्छ भनिदियौ । देबेन्द्रलालको राईस मील थियो । त्यहाँबाट फलाम निकालेर कामीलाई छुरा बनाउन दियौ । उसले तत्काल बनाईदियो । छुरा बोकेर बाघ मार्न गोदाबारी जंगलतिर लाग्यौ । दिनभर चहारियो तर बाघ भेटिएन । बाघ भए पो भेटिनु गोदाबरीमा ? निरास भएर साँझ फर्कियौ । भेटिएन भन्यौ पार्टीवालालाई । लौ त्यसोभए गाई या साढे मारेर ! ल्याउ फेरी डरलाग्दो उर्दी आयो । फसाद गाई या साढे मारे त मान्छे मारे बराबर सजाय हुन्छ । अब के मार्ने ? आईडिया आयो– घोडा मार्ने । नागबहालको चौरमा सेता घोडा दुबो चरिरहेको देखिन्थ्यो । एक रात म र काईलाबा घोडा मार्न हिडयौ । पार्टीका मान्छेले हेरिरहेका थिए ।

म घोडामाथी चढें । र याल बेस्कन समाते ।  काईलाबाले छुरीले पिठयुमा बेस्कन हाने । जाबो  छुराले हानेर घोडा के मथ्र्यो, हि हि.........  गर्दे भाग्यो । तर हामीले पार्टीको सदस्यता पायौ । अब मिटीङमा बोलाउन थाले । मिटिङ रातीराती हुन्थ्यो । कहिले स्वयम्भूको जंगलमा कहिले पशुपतिको मसानघाटमा । अनुशासन अति कडा । न चाडो पुग्न हुने न ढिलो । संस्थापक सातजना थिए – सुर्यबहादुर, भरतबहादुर, पुष्पलाल, शभ्भुराम, गंगालाल हलुवाई भैरबगोपाल र कामांक्षदेवी । यिनीहरुलाई सप्तऋषि भनिथ्यो । मिटिङकै क्रममा मलाई एकदिन गुहेश्बरीको जंगलमा सेन्ट्री राख्यो । खुकुरी दिएका थिए । कसैले आएर हातमा चार लेखिदिए भित्र जान दिनु नत्र छप्काईदिनु यस्तै आदेश थियो ।

आएर चार लेखिदिएन भने कसरी छप्काउनु मान्छे ? म निकै आत्तिएको थिएँ  । धन्न एकैछिनमा आएको त्यो मान्छेले हातमा चार लेखिदियो  । अनि मैले मान्छे काटने पाप गर्न परेन । १९९८ सालमै मैले साम्यबादको सन्देश किताब पढिसकेको थिएँ । त्यो किताब पढनेहरु आफुलाई कम्युनिष्ट भन्न थालीसकेका थियौ । प्रजातन्त्र संघको काम जारी थियो । मिटिङ गर्दै २ बर्ष बित्यो । त्यसपछि पार्टीको माथिल्लो तहमा झगडा पर्यो र पार्टी थला पर्यो । बोलाउन पनि छोडे । अब हामी क्रान्तिकारी गीत गाउदै हिडन थाल्यौ । भजनतिर एक दुई टुक्रा मिसाएर गाउथ्यौ । केही गीत यस्ता थिए ।
नाश गरौ यो राणाशाही
झन्डा लाल समाउ
दुर हटाई धनी गरिबी
समको राज्य बसाऊ ।
सहेर कहिले सम्म सहौ
यो जन्म जन्मको पीडा
जाऔ क्षय र संहार गरौ
अब पीडाका यी किरा
...............................
 २००४ सालमा पार्टीबाट फेरी खबर आयो सत्याग्रहमा जानपरो भनेर । किर्तिमान, म,  देबलाल हलुवाई र चन्द्रशेखर राजबंशी आदि शंखमुलको हनुमान मुर्तिलाई ढोग्दै जय महाबीर भन्दै हिडयौ । सुन्धाराबाट महाबौद्ध हुदै पाटन पुग्दा पुलिसले समात्यो । हामीसंग लगभग ५ सय मान्छे भईसकेका थिए । थाना पु¥र्याएर बरन्डामा राखेपछि मैले भिडतिर फर्केर भयानक भाषण गर्न थालें । त्यो जिन्दगीको पहिलो भाषण थियो । एक घन्टापछि महाराजगंज लग्यो । त्यहा सख्खर र चिउरा खान दियो । खान्न ! भन्यौ । त्यसपछि मोहनशम्शेरको गारतमा लग्यो । हामी ३९ जना थियौ ।  महिला पनि थिए – साहना, साधना, सुन्यलता र पुष्पलता ।

सात दिनपछि प्राईम मिनिष्टर पदमशमशेरकोमा लगे । हामीलाई मृगेन्द्रशम्शेरले सोधे – ‘के हो यो तिमीहरुको नागरीक अधिकार भनेको’ ? टंकबिलाशले अग्रेजीमा फटाफट उत्तर दिए – ‘प्रेस फ्रीड्म, फ्रीड्म  अफ एसोसिएसन एण्ड फ्रीड्म अफ एजुकेशन’ ! । अग्रेजीमा उत्तर सुनेर राणाहरु झस्के । सोझा पदमशम्शेरले ‘घर जाओ तिमीहरुको माग १२ दिनमा पुरा गर्छौ’ भने । फर्किदै थियौ, नजिकैको घरमा बिराटनगर जुट मिलबाट समातेर ल्याएका गिरिजाबाबु, मनमोहन, तारिणी आदिलाई देख्यौ । तिमीहरुको माग के ? मनमोहनले उताबाट कराएर सोधे । यताबाट तीर्थरामले जबाफ दिए । त्यसपछि तिनीहरुसँग किन बोलेको ? भन्दै आठपहरियाले म लगायतलाई बन्दुकको कुन्दाले बेस्कन हान्यो । २÷ ३ जनालाई फेरी समात्यो र जेल हाल्यो ।

राजधानीमा आन्दोलन चलिरहदा बनारसमा राष्ट्रिय काँग्रेसको सम्मेलनले डिल्लीरमण रेग्मीलाई सभापति चुनेको थियो । काठमाडौ जेलमा रहेका बिपीलाई यो मन परेन । डा. लोहिया र जयप्रकाशको दबाबमा उनी छुटे र ईन्डिया गए । उनको रेग्मीसग झगडा भयो । पुष्पलाल काँग्रेसको कार्यालय सचिव थिए । राणासग भिड्ने बेलामा आपसमै भिड्न थालेपछि हामीले नेतालाई मिल्न दबाब दिने उदेश्यले प्रजापन्चायत नामको संस्था खोल्यौ । दशैंका टिकाको  दिनबाट आन्दोलन शुरु भयो । हाते पर्चा फालियो, भाषण गरियो । सरकारले दमन गर्न थालेपछि यहाँ काम गर्न गारो भो । म र तुलसीलाल अमात्य प्रवास हिडयौ । रातारात हिडेर परवानीपुर पुग्यौ ।  अनि त्यहाँबाट सिधै रक्सौल ।

रक्सौलमा हामी आशालालकोमा बस्यौ । त्यतातिर पनि राणाले जासुस  छोडेको सुनेपछि तुरुन्तै बोर्डर क्रस गर्यौ । पार गर्नासाथ हामीले सडकमा नेपाल पुकार बेचिरहेका गणेशमानलाई देख्यौ । उनले चिनीहाले र कांग्रेसको अफिसमा लगे । उनले डिल्लीरमण रेग्मीकोमा पठाए । बनारसमा पार्टी्भित्रको झगडा मिल्ने लक्षण देखिएन । हामी दिक्कै भयौ । डेढ महिना पटना बनारस  कलकत्ता गर्दैमा र सुबर्ण, सुर्यप्रसाद रेग्मी, गणेशमान, मात्रिकाहरुसँग बार्ता गर्दैमा बित्यो । तर अन्तरद्धन्द घटाउन सकिएन । गफकै सिलसिलामा एकदिन त्यहा जातियताको बिषयमा झगडा भयो । डिल्लीरमणहरुले राणाहरुलाई पोस्ने, पाल्ने, शासन टिकाउने काम गर्ने नेवारहरु हुन भन्दै ब्यापक बिषबमन गरे ।

उनले रक्तमानकाजी र मरिचमानकाजीको नाम लिएर सबैलाई हिलो छ्यापे । माईला, साईला गुरुज्यु र बडागुरुज्युको नाम लिदै जुजुभाईले पनि जैशीले गर्दा राणा र देश दुबै बिग्रियो भने । रेग्मी आगो भए । मेरै घरमा बसेर मेरै भात खाएर त्यसो भन्ने  ? भन्दै राक्किए । उनले आफुलाई त्यस रुपमा पेश गर्न खोजेपछि ‘भेडोको पनि रौ सेतो हुन्छ, ठूला कुरा नगर्नुस’ भन्दै मैले चुप लगाएँ  । रेग्मी हेपेपछि जुजुभाई रीसले आगो भएर उठयो र रेग्मीलाई पिटन तम्सीयो । सबैले रोकेपछि सम्हालियो तर रातभरी रोईराख्यो । भोलीपल्ट मलाई अचानक कलकत्ताबाट तुरुन्त आउनु भनेर पुष्पलालको तार आयो । पैसा थिएन रेग्मीले नै १५ रुपिया दिए । अनि जसोतसो कालाप्रेस अर्थात कांग्रेसको अफिस पुगें  । पुष्पलालले कृष्ण सिनेमा हल जाने र नेपाल कमनिष्ट पार्टी खोल्ने योजना सुनाए । मैले सहर्ष स्वीकार गरें ।

म भित्रको कम्युनिष्ट फेरी अचानक जागेर आयो । त्यसपछि भारतीय कम्युनिष्ट पार्टीका नेता कमरेड बेदीले लगातार चार दिनसम्म प्रशिक्षण दिए । हामी चारजना खाट्टी कम्युनिष्ट बन्यौं । अब पार्टी घोषणा गर्ने कुरा आयो । सबैलाई लेनिन डे का दिन घोषणा गर्नु उत्तम लाग्यो र त्यसै ब्यबस्था मिलाईयो । २२ अप्रिल, सन् १९४९ का दिन श्यामबजार एरियामा भाकपाका नेता क.पंकजकुमारको डेरामा दिउँसो एक बजे हातले लेखेर ल्याएको पार्टीको घोषणापत्र पुष्पलालले २ पटक पढेपछि हामी चारैजना ( पुष्पलाल, म निरन्जनगोबिन्द बैद्य र नारायणबिलास जोशीले हावामा मुक्का उचाल्दै घोषणापत्र एकमत र एकमनले पारित गर्यौ ।

पार्टी जन्मेको खुशीयालीमा हामीले त्यही एउटा अण्डा पाउरोटी र एक कप चियाको भोज खायौ । भोलिपल्ट सबैजसो पत्रिकामा समाचार आएपछि र बाटैभरी पर्चा  समेत छरिएपछी निकै चर्चा र हल्लाखल्ला भयो । त्यो खुशी म शब्दमा ब्यक्त गर्न सक्दिन ।
(स्वर्गीय कर्मचारीसँग जीवित अवस्थामा गरिएको कुराकानीमा आधारित । अर्काइभबाट)
 

प्रतिक्रिया दिनुहोस