जापानका यूवा व्यवसायी गैरेद्धारा चितवनका बाढीपिडितलाई १ लाख राहत सहयोग

सफल खबर संवाददाता

विहीबार, ०८ साउन २०७७, १० : १३
जापानका यूवा व्यवसायी गैरेद्धारा चितवनका बाढीपिडितलाई १ लाख राहत सहयोग

चितवन । चितवनका बाढीपिडितलाई एनआरएन जापान कान्साइका उपाध्यक्ष, स्टारगु्रप जापानका संरक्षक यूवा व्यवसायी दिलिप शर्मा गैरेले राहत स्वरुप एक लाख नगद सहयोग गरेका छन् । 

भरतपुर –१० घर भई हाल जापानमा होटल व्यवसाय गर्दै आएका यूवा गैरेले बाढी पिडितको लागि आर्थिक सहयोग १ लाख रुपैया भरतपुर महानगरपालिका नगरप्रमुख रेनु दाहाललाई हस्तान्तरण गरेका छन् । सो अवसरमा महानगर प्रमुख दाहालले कोरोनाको विषम परिस्थितिमा पनि बाढीपिडितलाइ आर्थिक सहयोग गरेकोमा यूवा व्यवसायी गैरेलाई धन्यवाद दिइन् ।

उनले यस्ता सहयोगी हातहरुको सधै आवश्यकता पर्ने बताउदै सहयोग गरेको रकम महानगरको प्रकोप व्यवस्थापन खातामा राखी बाढीपिडित परिवारलाई प्रदान गरिने बताईन् । त्यसैगरी मेयर दाहालले कोरोनाको समयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाबाट सहयोग तथा स्वास्थ्य सामग्री आएको तर यस वर्षको बाढी पिडितलाई सहयोग गर्ने गैरे पहिलो व्यक्ति भएको भन्दै प्रशांसा व्यक्त गरिन् । 

चितवन समाज कान्साइका सल्लाहकार समेत रहेका व्यवसायी गैरले यस्तो विषम परिस्थितिमा पनि नेपाल आई बाढीपिडितलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले आफुले प्रदान गरेको रकमले पिडित परिवारको उदारमा खर्चहुने विश्वास व्यक्त गरे ।

त्यसैगरी समाजसेवी गैरेले बुधवार देवघाटका बृद्धवृद्धाहरुलाई आफ्नै पहलमा भोजन गराएका छन् । गैरे यस वर्षको वाढीपहिरोमा चितवनमा सहयोग गर्ने पहिलो व्यक्ति भएको महानगरले जनाएको छ । त्यसैगरी गैरेले बिहिबार देवघाट क्षेत्रविकास समिति अन्र्तगत रहेका जेष्ठ नागरिकहरुलाई पनि भोजन गराएका छन् । 
 

प्रतिक्रिया दिनुहोस