काठमाडौं । अपराध गरी लामो अवधिदेखि फरार रहेका अभियुक्तहरु बन्दाबन्दीका बेला धमाधम पक्राउ पर्न थालेका छन् । सरकारी छाप दस्तखत कीर्ते गरेको अभियोगमा झापा जिल्ला अदालतबाट दुई वर्षअघि एक वर्ष कैद र रु ५० हजार जरिवाना तोकिएका विर्तामोड–१ का २५ वर्षीय सुशील बस्नेत पक्राउ परेका छन् ।
प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार ई वर्गको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) मा ए र बी वर्ग थपेर बस्नेतले कीर्ते लाइसेन्स बनाएका थिए । अरु बेला अन्यत्रै लुकीछिपी बस्ने गरेका अभियुक्त बस्नेत बन्दाबन्दीका बेला आफ्नै घरमा आएका थिए । प्रहरीले विशेष सुराकीको आधारमा उनलाई पक्राउ गरेको जनाएको छ । अदालतले कैद भुक्तानका लागि उनलाई झापा कारागार चलान गरेको छ ।
झापा गाउँपालिका–५ का ३४ वर्षीय रुपनारायण शिवाकोटी दोस्रो विवाह गरेको अभियोगमा विसं २०७० चैत ९ गतेको फैसला बमोजिम झापा अदालतबाट एक वर्ष पाँच महिना कैद र रु १५ हजार जरिवाना तोकिएका अभियुक्त हुन् । विवाह गरी फरार रहेका शिवाकोटी पनि अरु बेला अन्यत्रै भागीभागी हिँड्दै आएका थिए तर बन्दाबन्दीका बेला घर आएका उनलाई आइतबार पक्राउ गरी अदालतमा हाजिर गराइएको छ । हाल उनी कैद भुक्तानका लागि कारागार चलान भइसकेका छन् ।
नागरिकता, हत्या, बलात्कारलगायतका थुप्रै मुद्दामा कैद तोकिएका फरार अभियुक्तहरु बन्दाबन्दीमा प्रहरीले पक्राउ पर्ने गरेको प्रहरीको भनाइ छ । झापा जिल्लामा प्रहरीले गत एक वर्षमा ९० फरार अभियुक्त पक्राउ गरी उनीहरुबाट रु एक करोड सात लाख ७२ हजार २०० जरिवाना र जम्मा कैद ६१ वर्ष ११ महिना आठ दिन असुल गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०६ साउन २०७७, १० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ