कोरोना कहर : विदेशमा यो साता थप १६ जना नेपालीको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०४ साउन २०७७, ०९ : ३५
कोरोना कहर : विदेशमा यो साता थप १६ जना नेपालीको मृत्यु

प्रतिकात्मक फोटो

काठमाडौं । विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप १६ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता कतारमा ८ , कुवेतमा ३, युएईमा ५ जनाको मृत्यु भएको  हो ।

कतारमा निधन भएका ८ जना मध्य २ जनाको निधन हुनु भन्दा पहिला कोरोना पुष्टि भएको र बाँकी ६ जनाको निधन पछि कोरोना पोजेटिभ देखिएको स्वास्थ्य समितिले जनाएको छ । गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार शनिबार साँझ सम्म विदेशमा मात्र १४ देशमा १ सय ६० जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ ।

समितिका अनुसार २० देशमा रहेका नेपालीहरु पूर्ण रुपमा कोरोना मुक्त भएका छन् । संघका अनुसार जम्मा कोराना संक्रमित मध्ये ९३ प्रतिशत नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् । अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपाली मध्ये सबैजना कोरोना भाइरसबाट मुक्त भएका छन् । समितिका अनुसार मध्यपूर्वका केही देशमा रहेका नेपालीहरुमा भने अझै कोरोना भाइरसको संक्रमण रोकिएको छैन् ।

विदेशमा ३० हजार ५ सय ७१ जना मध्ये २८ हजार ६ सय ८१ जना नेपाली संक्रमण मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ । संघ अन्तरर्गतको स्वास्थ्य समितिका संयोजक डा. सापकोटाका अनुसार  भारत, साउदी, युएई र कुवेतमा मात्र  ९ सय ५० जनामा  नेपालीहरुमा यो साता कोरोना संक्रमणमा बृद्धि भएको हो । संघका अनुसार नेपालसहित कोरोना भाइरसका कारणले ४० जना नेपालको सहित विश्वभर ज्यान गुमाउनेको संख्या २ सय जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस