कांग्रेस कार्यकर्तालाई रामचन्द्र पौडेलले भने– देउवा र पौडेल भन्दै पछि नलाग्नुस्

सफल खबर संवाददाता

शनिबार, ०३ साउन २०७७, १४ : ३२
कांग्रेस कार्यकर्तालाई रामचन्द्र पौडेलले भने– देउवा र पौडेल भन्दै पछि नलाग्नुस्

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा कसैको गुटमा नलाग्न कार्यकर्ताहरुलाई आह्वान गरेका छन् । उनले देउवा वा पौडेल पक्ष कसैसँग नटासिन कार्यकर्ताहरुलाई आग्रह गरे ।

१४ औं महाधिवेशन आउन सात महिना बाँकी रहेका बेला पौडेलले शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा व्यक्तिका पछाडिभन्दा पनि लोकतान्त्रिक गणतन्त्र र सिंगो पार्टीका पछि लाग्न आग्रह गरेका हुन् । कार्यक्रममा बिभिन्न मितिमा सगरमाथाको सफल आरोहण गरेकाहरुलाई कांग्रेस प्रवेश गराइएको थियो ।

को कार्यक्रममा पौडेलले भने, ‘अब चौधौं महाधिवेशनमा प्रजातान्त्रिक अभ्यास राम्रोसँग गरौं । ज्यादा मेरो पक्ष र तेरो पक्षमा नटासियौं कोही पनि । मैले सबैलाई भनेको छु, तपाईंले देउवालाई पनि नसमात्नुस्, पौडेललाई पनि नसमात्नुस् । कांग्रेस समात्नुस्, रुख समात्नुस्, लोकतन्त्र समात्नुस्, संघीय लोकतान्त्रिक गणतन्त्र समात्नुस् ।’ गुटगत राजनीति त्यागेर राष्ट्रप्रति इमान्दार हुनुपर्ने उनको आग्रह थियो ।

उनले १४ औं महाधिवेशनमा लोकतान्त्रिक अभ्यास गर्न पनि आग्रह गरे । ‘जनतामा कांग्रेसप्रति नराम्रो सन्देश गएको छ। यो बिडम्बना हो,’ उनले भने, ‘कांग्रेसले संविधान ल्याउने। लोकतान्त्रिक गणतन्त्र ल्याउने पार्टीले नै चुनाव हारेर राम्रो गरेन। गणतन्त्र र संविधान कार्यान्वयनका बेला कम्युनिष्टको हातमा गयो यो बिडम्बना हो।’