खोलासँग खेलवाड गर्दा......

पत्रपत्रिकाबाट

बुधबार, ३१ असार २०७७, ०८ : २९
खोलासँग खेलवाड गर्दा......

विराटनगर । मोरङको रतुवामाई–७ डाँगी टोलका २४ वर्षीय अरुण ऋषिदेव आइतबार प्रेमिका भेट्न भन्दै मामा वासु ऋषिदेवलाई लिएर झापाको गौरीगन्जतर्फ हिँडे । घुमेर जाँदा गन्तव्यमा पुग्न धेरै समय लाग्ने भएपछि अरुण र वासुले रतुवा खोला तरेर जाने निधो गरे।

वासुले पौडिएर खोला पार गरे तर अरुणलाई बाढीले निल्यो । उनलाई अझै फेला पार्न सकिएको छैन। मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जोखिम मोलेर लापरवाहीपूर्ण तरिकाले खोला तर्न खोज्दा घटना भएको बताए ।मोरङकै सुन्दरहरैंचा–१ का २ वर्षीय आकाश राईले असार १ गते माछा पोखरीमा डुबेर ज्यान गुमाए। नुहाउन भनेर साथीहरूसँग पोखरीमा पस्दा उनी डुबेका थिए। एसपी खड्काले भने, ‘बर्खाको बेला पानीको सतह बढेको पोखरीमा जानाजान पस्दा डुबेर अकालमा ज्यान गयो।’

सुनसरीको बराहक्षेत्र–६ का १३ वर्षीय अनिल बस्नेतको आइतबार सप्तकोसी नदीले बगाएर मृत्यु भयो। बाढीले बगाएर ल्याएको दाउरा झिक्न पस्दा उनलाई नदीले बगायो। दाउराको लोभमा पर्दा उनको अल्पायुमै मृत्यु भयो। लापरवाहीपूर्वक दाउरा संकलन गर्नु पनि मृत्युको एक मुख्य कारक रहेको प्रहरीको निष्कर्ष छ। प्रहरीले यस घटनालाई बालकभन्दा पनि अभिभावकको बेवास्ताका रूपमा लिएको जिल्ला प्रहरी सुनसरीका प्रवक्ता डीएसपी विनोद शर्माले बताए।

सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित सर्दु खोला तर्ने क्रममा ५५ वर्षीय रामबहादुर बस्नेतको शनिबार मृत्यु भयो। खोलाले बगाएर बेपत्ता बनाएका उनको शव घटनास्थलभन्दा लगभग ५ किलोमिटर तल आइतबार भेटियो। लापरवाही ढंगले खोला तर्न खोज्दा ज्यानै गयो। ‘थोरै भए पनि घुमेर गएको भए गन्तव्यमा पुग्थे’, जिल्ला प्रहरी प्रवक्ता शर्माले भने, ‘बाढीले ज्यानै लग्यो।’ अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस