काठमाडौँ । आफैँले काम गर्ने सःमिल सञ्चालक दम्पतीको हत्या गर्ने एक जनालाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले हत्यापछि फरार हुँदै आएका सर्लाहीका जयकिशोर साहलाई घटनाको १४ वर्षपछि आइतबार बाँकेस्थित भारतीय सीमाक्षेत्रबाट पक्राउ गरेको हो ।
विसं २०६३ पुस २० गते सितापाइलास्थित कान्तिपुर सःमिलका सञ्चालक मोरङ डाँगीहाटका ४५ वर्षीय नातीकाजी सुवेदी र श्रीमती सानु सुवेदीलाई कामदार सर्लाहीका जयकिशोर साह र बाँकेका प्रताप रानाले धारिलो हतियार प्रहार गरी हत्या गरेर फरार भएका थिए । साह पक्राउ परे पनि राना अझै फरार छन् । उक्त घटना सिआइबीले सोमबार सार्वजनिक गरेको हो ।
सःमिलका मालिकले काम बिगारेको भन्दै गाली गरेको विषयमा त्यसको बदला लिन उनीहरुले सुवेदी दम्पती र छोरालाई धारिलो हतियारले शरीरका विभिन्न भागमा प्रहार गरी निर्ममतापूर्वक आक्रमण गरेका थिए । सोही चोटका कारण सुवेदी दम्पतीको मृत्यु भएको र छोरा भने बाँच्न सफल भएका थिए ।
घटनापछि दुवै अभियुक्त नेपालबाट भागी भारतको लखनऊमा गई दुई वर्षसम्म सँगै बसेका थिए । प्रताप राना अन्यत्रै लागेपछि साहले जय शर्माको नामबाट भारतीय आधारकार्ड लगायतका कागजात बनाई पहिचानसमेत बदलेर भारतको लखनऊमा बस्दै आएको सिआइबीका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।
सिआइबीले आफ्नो स्थापनाकालदेखि नै उक्त घटनालाई प्राथमिकतामा राखी अनुसन्धान गरिरहेकामा घटनामा गम्भीर घाइते भई बाँच्न सफल विलभ सुवेदीसँगको निरन्तर सम्पर्क र सूचनाका आधारमा अन्तर्राष्ट्रियस्तरमा समेत समन्वय गरी हुलिया सनाखत गरेर उनलाई पक्राउ गरिएको थापाले बताए । अर्का फरार व्यक्ति पनि छिट्टै पक्राउ पर्ने उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ३० असार २०७७, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१७ करोडभन्दा बढीको क्रिप्टो कारोबारमा चिनियाँ नागरिक पक्राउ
नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ
४० हजार घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ
ठगी गरेको अभियोगमा एक जना पक्राउ