४ दिनसम्म पनि पुगेन पहिरो प्रभावित क्षेत्रमा राहत

पत्रपत्रिकाबाट

मंगलबार, ३० असार २०७७, ०७ : २९
४ दिनसम्म पनि पुगेन पहिरो प्रभावित क्षेत्रमा राहत

म्याग्दी । बाढीपहिरोबाट अति प्रभावित म्याग्दीको धौलागिरि र मालिका गाउँपालिका पुग्ने सडक र गोरेटोसमेत अवरुद्ध हुँदा विस्थापितका लागि राहत पुर्‍याउन कठिनाइ भएको छ ।

खराब मौसमका कारण हेलिकप्टरसमेत उड्न नसकेपछि त्रिपाल, टेन्ट, खाद्यान्न, खानेपानीका पाइपलगायत राहत सामग्री घटनाको चौथो दिन (सोमबार) सम्म पनि पुर्‍याउन नसकिएको हो ।

दुवै पालिकामा गरी ७ सय ५० जनाभन्दा बढी विस्थापित छन् । ‘सुरुमा उद्धार टोलीसँग पठाएको ५० बोरा चामल, दुई बोरा दाल, २० कार्टुन तेल, बिस्कुट, चाउचाउ, मसला समेतका खाद्यान्न सकिएको खबर छ । सोमबार हेलिकप्टरमा तीन क्विन्टल चामलसहित सामान पठाउने तयारी गरिएकोमा खराब मौसमले सम्भव भएन,’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘सडक पूरै अवरुद्ध भएकाले राहत सामग्री ढुवानीमा समस्या भएको छ ।’ सरकारले खासै पहल नगरे पनि स्थानीय व्यवसायीले हेलिकप्टर उपलब्ध गराएकाले मात्र यसअघि राहत पुर्‍याउन सकिएको हो । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस