सुनसान सगरमाथा : कोरोना कहरले मानवनको पाईला परेन्

पत्रपत्रिकाबाट

सोमबार, २९ असार २०७७, ०८ : ३१
सुनसान सगरमाथा : कोरोना कहरले मानवनको पाईला परेन्

काठमाडौं । कोरोना महामारी सुरु नभएको भए यति बेला कीर्तिमानी आरोही कामिरिता शेर्पा २५ औं पटक सगरमाथा चढेर काठमाडौं फर्किसकेका हुन्थे। आफ्नै कीर्तिमान तोड्दै ‘५० वर्षमा २५ चोटि सगरमाथाको सफल आरोहण’ गर्ने उनको लक्ष्यमा कोरोना भाइरस अवरोध बनिदियो।  

यसअघि २४ चोटि सगरमाथा र ३६ चोटि अन्य हिमाल चढेर सर्वाधिक हिमाल आरोहण गर्ने व्यक्तिका रुपमा गिनिज बुकमा नाम लेखाएका उनी यति बेला कपनस्थित घरमै आरोहण खुल्ने समयको प्रतीक्षामा छन्। सरकारले गत मार्च १६ मा एकाएक आरोहण बन्द गरेसँगै कामिरिताको मात्रै आरोहण तालिका परिवर्तन भएन, सन् १९५३ पछि पहिलोपटक यो वर्ष कुनै पनि हिमालको आरोहण भएन।

कामिरिता आरोहणका लागि बन्दोबस्तीका सामान बोकेर लुक्ला पुगिसकेका थिए। एकाएक लकडाउन सुरु भएपछि उनले नयाँ कीर्तिमान बनाउन त सकेनन् नै, विदेशीसँग भएका सम्झौतासमेत रद्द गरेर बेरोजगार बने। राष्ट्रिय अभियानका रुपमा सरकारले आयोजना गरेको ‘भ्रमण वर्ष २०२०’ ले हौसिएका आफूलगायत पर्यटन व्यवसायसँग सम्बन्धित दुई लाखभन्दा बढी व्यक्तिको दैनिकी परिवर्तन भइसकेको उनले बताए। मजबुत अर्थतन्त्र भएका मुलुकहरू पर्यटन व्यवसायबाट नै समृद्ध बनेका हुन्। नेपालले पनि पछिल्लो समय पर्यटन उद्योगमार्फत गतिलै विदेशी मुद्रा आर्जन गर्दै आएको छ। तर २०२० भने कोभिड १९ का कारण नेपाली आरोहण क्षेत्रका लागि कालो वर्ष बनेको कामिरिताको भनाइ छ।

अवस्था नबिग्रेको भए यति बेला भ्रमण वर्ष २०२० आधा भइसकेको हुन्थ्यो। देशभरका होटल विदेशी पाहुुनाले भरिभराउ हुन्थे। विमानस्थलमा आन्तरिक तथा बाह्य उडानबाट आएका पाहुनाको घुइँचो हुन्थ्यो। पदमार्ग र आरोहण क्षेत्रमा विदेशी पाहुनाको चहलपहल भइरहेको हुन्थ्यो। तर कोरोना भाइरसले पर्यटन व्यवसाय नै धराशयी बनाएको छ। त्यसमध्ये खर्चालु पर्यटक भित्र्याउने पर्वतारोहण क्षेत्र लकडाउनमा पर्दा मुखमा राख्न खोजेको गाँस खोसिएको भान भइरहेको सुनाउँछन् कामिरिता।

एक्कासि लकडाउन हुँदा आफ्नो मात्रै नभएर आरोहणसँग सम्बन्धित हजारौंको जागिर गुमेको र सरकारले आरोहण खोल्ने निर्णय नगर्दा विदेशीले सोेध्दा जवाफ दिने शब्द नै नभएको उनले सुनाए। ‘दैनिकजसो विदेशीले फोन गर्छन्। पहिले सम्झौता भएका विदेशी आरोहीलाई चुचुरोमा पु¥याउने जिम्मेवारी लिन नपाउँदा गह्रुँगो महसुस भएको छु,’ उनले भने, ‘आरोहणसँग सम्बन्धित हजारौं दक्ष जनशक्तिलाई यो समय हिमाल सफाइमा मात्रै लगाउन सकेको भए पनि नेपालका हिमालबारे विश्वमा सकारात्मक सन्देश दिन सकिन्थ्यो। तर त्यो काम गर्ने तयारी पनि शून्य छ।’नागरिक दैनिकमा खबर छ ।