प्रधानमन्त्री ओली क्याम्पमै देखियो तीन धार !

दुवै पद छोड्न नहुने, माधव नेपालसँग मिलेर जानुपर्ने र आवश्यक परे प्रधानमन्त्री पद छोडेर जानुपर्ने गरी तीन धार ओली क्याम्पभित्रै देखा परेको छ

सफल खबर संवाददाता

बुधबार, २४ असार २०७७, ०९ : १८
प्रधानमन्त्री ओली क्याम्पमै देखियो तीन धार  !

काठमाडौं । पार्टीभित्रै निक्कै अप्ठयारो मोडमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेताहरुले भन्दैमा पद नछोडने अडान लिईरहेका त छन्, तर उनको क्याम्पभित्रै पार्टी विवाद मिलाउनका लागि अनेक धार देखिन थालेको छ । सरकार र पार्टी सञ्चालनमा ओलीको शैली र स्वभाव नमिलेकै कारण पार्टीमा यो संकट आईपरेकोमा करिब सहमती निस्कर्ष नजिक पुगेको ओली समुहले यसको समाधान कसरी खोज्ने भन्नेमा भने आफ्नै समुहभित्र सहमति जुटाउन सकेको छैन् । 

ओली सुमहका नेताहरुकै बीचमा पार्टीभित्रको यो संकट कसरी समाधान गर्ने भन्नेमा तीन समुह देखा परेको ओली समुहका एक नेताले सफलखबरलाई बताए । पहिलो समुह हो ; ओली झुक्नु हुन्न । कुनै पनि पदबाट राजीनामै दिनुहुन्न । यो समुहमा नेताहरु इश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु रिमाल लगायतका नेताहरु छन् । यो समुहले आवश्यक परे पार्टी विभाजन गरेर अलग हुनुपर्छ, तर प्रचण्ड माधव नेपाल समुहसँग झुकेर जानु हुदैन भन्ने सल्लाह ओलीलाई दिईरहेका छन् । यो खेमा ओली समुहभित्र बलियो समुहको रुपमा रहेको देखिएको छ । 

दोश्रो समुह हो : माधव नेपाल र ओली समुहलाई मिलाउनु पर्छ । यो सुमहमा भानुभक्त ढकाल, खगराज अधिकारी लगायतका ओली निकट नेताहरु छन् । यो समुहले पूर्व एमाले धारलाई बलियो बनाएर माओवादी धारलाई कमजोर बनाउने र पूर्व एमाले अधिनस्थ बनाएर प्रचण्डहरुलाई दबाबमा राखेर पेलेर जानुपर्ने सुझाव ओली निकट एक नेताले बताए । जनताको बहुदलीय जनवादका नाममा ओली र माधव नेपाललाई एक गठ बनाएर जानुपर्ने मत यो समुहले उठाईरहेको छ । 

तेश्रो समुह हो : प्रधानमन्त्रीले दुई मध्ये एक पद मुख्यतः प्रधानमन्त्री पद छोडेर जानुपर्छ । पार्टीभित्र विवाद चर्किएको अवस्थामा पार्टी विभाजन रोक्ने र आवश्यक परे एउटा पद छोडेरै जानुपर्ने धार पनि ओली क्याम्पभित्र देखा परेको छ । यो धारमा शंकर पोखरेल लगायतका नेताहरु छन् । सरकारले नक्सा सार्वजनिक गरेर राष्ट्रवादी चरित्र देखाएको तर कोरोना संकटका कारण देखिएको संकटले सरकारले अब राम्रो प्रभावकारिता देखाउन नसक्ने अवस्था रहेको बेला प्रधानमन्त्रीले आवश्यक पर्दा आलोचित भएर सरकारमा बसिरहनु भन्दा सरकारबाट हटेर मार्गप्रसस्त गर्दा नै आफनो लोकप्रियता कायम राख्न सकिने भन्दै आवश्यक पर्छ भने राजीनामा पनि दिएर जान सक्नुपर्ने आवाज उठाईरहेका छन् ।

ओलीसँगको एक छलफलमा पोखरेलले यो तर्क गरेका पनि थिए  । तर प्रधानमन्त्री ओली यो तर्क सुन्नै चाहदैनन । उनले पोखरेल लगायतलाई यस्तो तर्क गरे ठिक नुहने बताएपछि यस्तो आवाज उनीहरुले उठाउन सकेका छैनन् । पार्टीभित्र यो समुह ओलीको अगाडी निक्कै दमित अवस्थामा देखिएका छन् । प्रचण्ड माधव नेपाल समुहले प्रधानमन्त्री ओलीले सरकार चलाउन पनि नसकेको र पार्टीमा पनि असफल रहेकोले दुवै पद छोडन माग गरेकै छन् । बालुवाटार निकट नेताहरुले ओली प्रचण्ड छलफल सहमति नजिक भनेर प्रचण्ड र नेपाल समुहभित्र अन्तरविरोध पैदा गराउने र टुटफुट गराएर आफनो पक्षलाई बलियो वनाउने योजनामा ओली पक्ष देखिएपनि सफल हुन सकिरहेका छैनन् ।

प्रधानमन्त्री एउटा पद भएपनि छोडनुपर्ने बटमलाइन प्रचण्ड नेपालले बनाएका छन् । यो बटमलाइनमा प्रचण्ड वार्तामा अडिग नै देखिएका छन् । यस्तो अवस्थामा अब ओलीले के गर्लान् ? नेकपाका नेताहरु नै यस्सै गर्छन् भनेर ठोकुवा गर्न सक्ने अवस्थामा छैनन् । तर ओलीले पार्टी विभाजन गरेर हिड्न नहुनेमा उनकै समुहका नेताहरुमा पनि बहस उठेकोले ओलीको कदम अहिले चासोका साथ हेर्न थालिएको छ । आफ्नै सुमहमा देखा पर्न थालेको तीन थरी समहुका बीचमा अब ओली समुहमा कुन समुह हावी हन्छ र कसरी ओली अगाडी बढ्छन भन्ने हेर्न बाँकी नै छ । 
 

प्रतिक्रिया दिनुहोस