बारीमै सुक्न थाले आँपका रूख

पत्रपत्रिकाबाट

मंगलबार, २३ असार २०७७, ०८ : ३३
बारीमै सुक्न थाले आँपका रूख

महोत्तरी । फल्नु पर्ने समयमा महोत्तरीमा आँपका रूख बारीमै सुक्न थालेका छन् । केही महिनायता बल्वा र मनरा नगरपालिका तथा महोत्तरी गाउँपालिकाको सयौँ हेक्टर जग्गामा लगाएका आँपका रूख सुकेका छन् ।

सुरुवातमा माकुराको जस्तो जालो लाग्ने र बिस्तारै पात सुक्दै जाने गरेको स्थानीय किसानले बताएका छन् । जालो ठीक होला भन्दाभन्दै रूख नै सुकेको महोत्तरी गाउँपालिका–६ गोरगमाका किसान रामनन्दन ठाकुरले बताए । करिब एक बिघा जग्गामा आँपको खेती गरेका रामनन्दनले अधिकांश रूख सुकेको जानकारी दिए ।

‘केही महिनाअघि आँपमा माकुराको जस्तो जालो लाग्न थाल्यो । सामान्य केही होला भनेर खासै चासो राखिनँ,’ रामनन्दले भने, ‘बिस्तारै जालो बढ्दै गयो र पातहरूसमेत सुक्न थाले । त्यसपछि औषधि ल्याएर आँपको रूखमा छर्के पनि काम गरेन ।’ उनको बारीका वरिपरिका आँपका रूख पनि केही सुकेका छन् भने केही सुक्न थालेका छन् । 

ठीक होला भन्दाभन्दै सुकेर सखाप भएको अर्का किसान शशीलाल साहले बताए । गाउँपालिकामा गएर भन्दा पनि केही उपाय नलागेको उनको भनाइ छ । स्थानीय निकायमा कृषविज्ञ छैनन् । जनप्रतिनिधिलाई समस्या सुनाए पनि वास्ता नगरेको साह बताउँछन् । के रोग लागेको भन्नेसमेत थाहा नपाएको किसानहरूको गुनासो छ । नयाँ पत्रिका दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस