वाम गठबन्धनको चुनावी सभा

प्रचण्डलाई भारी मतले जिताउन केपी शर्मा ओलीको निर्देशन

मंगलबार, ०५ मंसिर २०७४, २१ : ३३
प्रचण्डलाई भारी मतले जिताउन  केपी शर्मा  ओलीको निर्देशन

भरतपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नम्बर तीनबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डलाई भारी मतले जिताउन वाम गठबन्धनका कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।
संयुक्त वाम गठबन्धन चुनाव परिचालन समितिले मंगलबार भरतपुरमा आयोजना गरेको विशाल जनसभामा बोल्दै अध्यक्ष ओलीले गठबन्धनमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्तालाई यस्तो निर्देशन दिनु भएको हो । ‘कम्तीमा बीस हजार मतको अन्तरले जित्नुपर्छ प्रचण्डजीले’ उहाँले भन्नुभयो, ‘दस, पन्ध्र हजारको अन्तरले प्रचण्डजीले जित्ने हो भने हामीलाई लाज हुन्छ । दुई वटा ठूला पार्टी मिलेर लड्दा मतान्तर पनि धेरै हुनुपर्छ ।’
‘दुई दुईपटक प्रधानमन्त्री बन्नुभएका प्रचण्ड यो देश बनाउने संकल्पका साथ चितवन आउनु भएको छ’ प्रचण्डको पक्षमा जुट्न आग्रह गर्दै ओलीले भन्नुभयो, ‘एउटा बाटोको ठेक्का लिएर डोजर चलाएजस्तो हो देश बनाउने कुरा ? एउटा टेण्डर पारेजस्तो हो देश बनाउने कुरा ? हामी राष्ट्र निर्माणको महाअभियानमा सामेल भएका छौँ ।’ जनसभामा सहभागी कार्यकर्तालाई नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकीकरणबारे आश्वस्त पार्दै ओलीले निर्वाचनपछि पार्टी एकता हुने बताउनु भयो ।
भएको गृहमन्त्री हटाएर अर्को राख्न नसक्ने सरकारले शान्ति, सुरक्षा दिन नसकेको ओलीको भनाइ थियो । उहाँले सरकारलाई शान्ति, सुव्यवस्था कायम गरेर निर्वाचन सम्पन्न गर्न आग्रह समेत गर्नुभयो । वाम गठबन्धनले जितेमा देशमा कम्युनिष्ट सरकार बन्छ भन्ने विपक्षी गठबन्धनलाई चुनौती दिँदै ओलीले भन्नुभयो, कम्युनिष्ट सरकार यो देशमा बन्यो, बन्यो । कम्युनिष्ट शासन यो देशमा आयो, आयो । अब बन्ने वामपन्थी सरकार देश विकासको बाटोमा अघि बढ्यो, बढ्यो ।


नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दुईतिहाई बहुमत ल्याएर मुलुकलाई स्थायित्व दिनका लागि वाम गठबन्धनलाई मतदान गर्नुपर्ने बताउनु भयो । विकास र समृद्धिको नयाँ यात्रामा आफूहरू अघि बढेको भन्दै उहाँले नेपालको इज्जत र प्रतिष्ठा उठाउनका लागि वाम शक्ति एक हुनु परेको चर्चा गर्नुभयो । वाम गठबन्धनप्रति जनताको आशा र भरोसा देखिएको बताउँदै उहाँले वामपन्थीले यो देशमा सधैँ राष्ट्रियताको पहरेदार बनेर देशभक्तिको झण्डा उचालेको बताउनु भयो ।
‘कम्युनिष्टहरु लोकतन्त्रका पहरेदार हुन्, हामी कसैप्रति भेदभाव गर्दैनौँ’ उहाँले भन्नुभयो, ‘जुनसुकै पार्टीको मान्छे भएपनि हामी जनताको हितमा काम गर्छौं ।’ चितवनले जे फैसला गर्छ, देशले पनि त्यही फैसला गर्ने भन्दै नेता नेपालले प्रचण्डलाई जिताएर समाजवादी युगको यात्रा चितवनबाटै आरम्भ गराउन कार्यकर्तालाई आग्रह गर्नुभयो ।
नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापाले वामपन्थीहरूको नेतृत्वमा नेपालमा समाजवादी युगको प्रवेश हुने र पूर्णरुपमा स्वाधिन बन्ने बताउनु भयो । उहाँले नेपालका वामपन्थी, प्रगतिशील, देशभक्त एक हुने उद्घोषले प्रतिक्रियावादीहरुमा दस रेक्टर स्केलको भुइँचालो गएको बताउनु भयो । कम्युनिष्टहरुले मात्र राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने दाबी गर्दै नेता थापाले चुनावपछि निर्माण हुने एकीकृत कम्युनिष्ट पार्टीले समाजवादको निर्माण गर्ने बताउनु भयो ।

‘दुई दुईपटक प्रधानमन्त्री बन्नुभएका प्रचण्ड यो देश बनाउने संकल्पका साथ चितवन आउनु भएको छ’ प्रचण्डको पक्षमा जुट्न आग्रह गर्दै केपी शर्मा ओलीले भन्नुभयो, ‘एउटा बाटोको ठेक्का लिएर डोजर चलाएजस्तो हो देश बनाउने कुरा ? एउटा टेण्डर पारेजस्तो हो देश बनाउने कुरा ? हामी राष्ट्र निर्माणको महाअभियानमा सामेल भएका छौँ ।’


नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले मधेशी र पहाडीबीचमा विभेद ल्याउन खोजिएको भन्दै यसविरुद्ध वाम गठबन्धन रहने बताउनु भयो । उहाँले उत्पीडित पहाडी, मधेशी र हिमाली मिलेर देशको विकास गर्नुपर्ने बताउनु भयो ।     कार्यक्रमलाई पूर्वअर्थमन्त्री एवं चितवन क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुरेन्द्र पाण्डे, एमाले चितवनका अध्यक्ष एवं क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कृष्णभक्त पोखरेल, नेपाल परिवार दलका केन्द्रीय अध्यक्ष एकनाथ ढकाल लगायतले सम्बोधन गर्नुभएको थियो ।  
कार्यक्रमको पहिलो खण्डमा नेकपा माओवादी केन्द्रका युवा नेता दिवंगत प्रकाश दाहालप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो । सम्पूर्ण वक्ताहरूले दाहालको निधनप्रति दुःख व्यक्त गर्नु भएको थियो । निकै पीडामा देखिनु भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यक्रममा बोल्नु भएन । पुत्र प्रकाशको स्मृतिमा आयोजित श्रद्धाञ्जलि सभामा प्रचण्ड, उहाँकी पत्नी सीता, बुहारी बिनासहित एमाले अध्यक्ष केपी शर्मा ओली, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापालगायतले दिवंगत प्रकाशको तस्बिरमा टिका लागाइदिँदै माल्यार्पण गरेका थिए ।
संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समिति चितवनका संयोजक अमिक शेरचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवनका पुराना कम्युनिष्ट नेता एवं पूर्वसाँसद एमालेका जेपी भेटवाललाई सम्मान गरिएको थियो । कार्यक्रममा गायकद्वय खुसीराम पाख्रिन र चेतन सापकोटाले गीत गाएका थिए । 
चितवन क्षेत्र नम्बर तीनबाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिनु भएकी भगवती प्रसाई (भावना विद्रोही) ले प्रचण्डलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी रद्द गरेको बताउनु भयो । यसैगरी ५० वर्षदेखि नेपाली काँग्रेसमा रहेर प्रजातन्त्रका लागि लड्नु भएका चितवनका पुराना काँग्रेसी नेता त्रिलोचन पौडेलले मंगलबारदेखि आफू नेकपा एमालेमा प्रवेश गरेको बताउनु भयो ।
 

प्रतिक्रिया दिनुहोस