प्रधानमन्त्री ओलीले संसद अधिवेशन अन्त्य गरेकोमा नेपाली कांग्रेसको गम्भीर आपत्ति

सफल खबर संवाददाता

विहीबार, १८ असार २०७७, १७ : ५९
प्रधानमन्त्री ओलीले संसद अधिवेशन अन्त्य गरेकोमा नेपाली कांग्रेसको गम्भीर आपत्ति

काठमाडौं । सरकारले एकाएक संसद अधिवेशन अन्त्य गरेकोमा नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै अधिवेशन अन्त्यप्रति आपत्ति जनाएका हुन् ।

शर्माले विज्ञप्तिमा भनेका छन्, ‘अधिवेशन आह्वान र अन्त्य गर्ने स्थापित निश्चित प्रक्रिया छन्, तर त्यसलाई अवलम्बन नगरी, कोरोना सृजित चुनौती सामना गर्न प्रस्तुत संकल्प प्रस्तावदेखि एमसीसी हुँदै अन्य महत्वपूर्ण विधेयकहरुबारे निश्चित टुंगोमा नपुगी अधिवेशन अन्त्य गरिनु दुःखद छ ।’ 


प्रेस विज्ञप्ति

संघीय संसदको जारी अधिवेशन एकाएक अन्त्य गरिएको घटनालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ ।

अधिवेशन आह्वान र अन्त्य गर्ने स्थापित निश्चित प्रक्रिया छन्, तर त्यसलाई अवलम्बन नगरी, कोरोना सृजित चुनौती सामना गर्न प्रस्तुत संकल्प प्रस्ताव देखि एमसीसी हुँदै अन्य महत्वपूर्ण विधेयकहरु बारे निश्चित टुंगोमा नपुगी अधिवेशन अन्त्य गरिनु दुःखद छ । यसबारेमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससंग न त कुनै परामर्श गरिएको छ न त पूर्व सूचना दिइएको थियो ।

सत्तारूढ दलभित्रको विवाद आफ्नो ठाउँमा छ, तर राजनैतिक दलभित्रको द्वन्द्वको दुश्प्रभाव संसद अधिवेशनमा पर्नु दुःखद मात्रै होइन आपत्तिजनक छ । विश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट देशभित्र कयौंको मृत्यु भएको र हजारौं संक्रमित भएको बेला त्यसप्रति उच्च गम्भीरतासाथ सिंगो संसदले साझा दृष्टि तय गर्न र परिमार्जित रणनीति साथ अघि बढ्न अत्यावश्यक पहलकदमी जरुरी थियो । तर अधिवेशन हठात् अन्त्य गरेर सरकारले त्यसप्रति घोर उदासीनता प्रकट गरेको छ ।

जनताको जिवन प्रधान कि सत्ताको राजनीति रु सम्माननिय प्रधानमन्त्री समक्ष सार्वजनिक रुपले प्रश्न राख्दै नेपाली कांग्रेस संघीय संसदको अधिवेशन हठात अन्त्य गरिएकोमा असहमति प्रकट गर्दछ ।

जय नेपाल 

विश्वप्रकाश शर्मा
प्रवक्ता
एवं
प्रमुख
सूचना, संचार तथा प्रचार विभाग
 

प्रतिक्रिया दिनुहोस