कागले सलह खाँदा रमायो राजधानी

पत्रपत्रिकाबाट

विहीबार, १८ असार २०७७, ०७ : ४२
कागले सलह खाँदा रमायो राजधानी

काठमाडौं । काठमाडौंवासी मंगलबार आकाशतिर हेरेर रमाए। किनकि ‘बाली र हरियालीलाई पूर्ण क्षति गर्छ’ भनिएको सलह कीरालाई बथानका बथान कागले खाइरहेका थिए।  

सलह भगाउन थाल ठटाउने, आगो बालेर धुवाँ निकाल्नेदेखि छर्रा हान्नेसम्मका घरेलु उपाय अपनाएको पाइन्छ। तर काठमाडौंमा त्यस्तो कुनै उपाय गर्नुपरेन।  

कागलगायत पन्छीको पर्यावरण सन्तुलनमा विशेष भूमिका हुन्छ नै। अझ हिन्दू समाजले कागलाई पूजा गर्छ। कागको सम्मानमा पर्व नै छ– कागतिहार। सलहको आगमनसँगै काठमाडौंवासीले आफ्नो संस्कृति र जीवनपद्धतिसँग जोडिएका कागको थप महत्व महसुस गर्न पाए।  

चराविज्ञ हेमसागर बराल कागजस्ता सबै खालका चराले पर्यावरणलाई नियमित रुपमा सेवा दिएको बताउँछन्। बराल भन्छन्, ‘कागले सलह खाएको त एउटा उदाहरणमात्र हो। यस्ता धेरै चराले सलह खाए होलान्। उनीहरूले आहारामात्र पाएनन्, सलह नियन्त्रणमा पनि सहयोग भयो।’ यस्ता दृष्टान्तले पन्छी मानिसको साथी भएको पुष्टि हुने बराल बताउँछन्। बेलाबखत प्रकृति असन्तुलित बन्दा वा कुनै प्रकोप आउँदा सन्तुलन ल्याउन हरेक प्राणीको भूमिका हुने उनको भनाइ छ।  

प्रतिक्रिया दिनुहोस