मध्यरातसम्म मुख्य सचिवसँग भेटेर एकाबिहानै मन्त्रीहरुलाई प्रधानमन्त्रीले किन बोलाए बालुवाटार ?

प्रधानमन्त्री ओलीले राष्ट्रपति समक्ष पनि भेट्न पठाएका थिए मुख्य सचिव

सफल खबर संवाददाता

बुधबार, १७ असार २०७७, ०८ : ४८
मध्यरातसम्म मुख्य सचिवसँग भेटेर एकाबिहानै मन्त्रीहरुलाई प्रधानमन्त्रीले किन बोलाए बालुवाटार ?

काठमाडौं । सत्तारुढ दल नेकपाका बहुमत सचिवालय सदस्य सहित नेताहरुले एकैपटक प्रधानमन्त्री केपी ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन माग गरेपछि नेकपाभित्रको राजनीति निक्कै जटिल मोडमा पुगेको छ । प्रधानमन्त्रीले आफूलाई सरकारबाट हटाउने खेलमा भारत लागिपरेको र त्यसमा नेपालकै नेताहरूको समेत संलग्नता रहेको गम्भीर आरोप लगाएपछि नेकपाको बैठक निक्कै पेचिलो मोडमा पुगेको हो । 

ओली आफ्नै अभिब्यक्तिका कारण अहिले पार्टी भित्र अप्ठयारोमा परेका छन् । उनको त्यही अभिब्यक्ती र निर्वाचन आयोगमा दुई दिन अगाडी मात्रै नेकपा एमाले नामको दल दर्ताका लागि पुगेको एउटा आवेदनको विषयलाई लिएर मंगलबार भएको छलफलमा प्रधानमन्त्री ओली पार्टी र सरकार दुवै मोर्चामा असफल भएको भन्दै शीर्ष नेताहरुले दुवै मोर्चाबाट राजीनामा दिन माग गरेका छन् ।  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले नै प्रधानमन्त्री ओलीले अब सरकार र पार्टी नेतृत्व नैतिकताका आधारमा छोडनुपर्ने माग गरेपछि नेकपा गम्भिर मोडमा पुगेको छ ।

मंगलबारको पार्टी बैठकपछि अध्यक्ष तथा प्रधानमन्त्री ओली पक्ष र प्रचण्ड नेपाल पक्षका बीचमा वार पारकै अवस्था निम्तन सक्ने सम्भावना बढेर गएको छ ।  बैठक अगाडी नै आफुलाई अप्ठयारो पर्ने ठानीसकेका ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर मात्र बैठकमा सहभागी भएका थिए । त्यसपछि उनले दिउँसो मुख्य सचिव लोकदर्शन रेग्मीलाई शितल निवास पठाएका थिए । प्रधानमन्त्रीको निर्देशनमा राष्ट्रपति भेट्न पुगेका मुख्य सचिव रेग्मीले राष्ट्रपति भेटेपछि बालुवाटारमा ओलीसँग आएर निक्कै लामो भेटवार्ता गरेका छन् । तर यि भेटघाट किन भए ? अहिलेसम्म खुल्न सकेको छैन् ।

ओलीले अबेर रातीसम्म मुख्य सचिवसँगै महासचिव विष्णु पौडेल, उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई राखेर छलफल गरेका थिए । ओलीले मध्यरातसम्म मुख्यसचिवसँग छलफल गरेपछि आफनो क्याबिनेटका मन्त्रीहरुलाई अहिले बिहानै बालुवाटार बोलाएका छन् । तर उनीहरुलाई मन्त्रिपरिषद्को बैठक भनेर बोलाईएको छैन् ।  पार्टीमा अप्ठयारो मोड आएपछि अब उनले के कदम चाल्लान् ? अहिले नेकपाभित्र मात्र नभई इतर वृतमा पनि चासोको विषय बनेको छ । ओलीका सामुन्ने पार्टीले भने अनुसार सरकारबाट राजीनामा दिने सबैभन्दा उत्तम विकल्प छ । तर उनले नेताहरुको यस्तो मागलाई कुन्ठाको संज्ञा दिएका छन् । 

उनले संकटकाल लगाउन सक्ने अर्काे विकल्प, र अर्काे संसद अधिवशेन अत्य गरेर पूनः वैशाखमै ल्याएको अध्यादेश ब्यूँताएर पार्टी संसदीय दलको ४० प्रतिशत पुरयाएर नयाँ दल बनाई काग्रेससँग मिलेर सरकार चलाउने लगायतका विकल्प रहेको पनि चर्चा राजनीतिक वृतमा चल्न थालेको छ । तर उनले मुख्य सचिव रेग्मीलाई राष्ट्रपति कहाँ भेटन किन पठाए र त्यसपछि फेरि बालुवाटारमा के विषयमा छलफल भयो ? भन्ने विषय रहस्यमै छ । सोही बेला एकाबिहानै मन्त्रीहरुलाई वालुवाटर बोलाएर प्रधानमन्त्रीले के विषयमा छलफल गर्न खोज्दैछन् ? भन्ने विषय नेकपाभित्र निक्कै चर्चामा छ । 

नेकपाले आज पनि बालुवाटारमै बिहान ११ वजे पार्टीको बैठक बोलाएको छ । हिजै बोल्न नाम टिपाएका नेताहरुले आज बोलेपछि दुई अध्यक्षले यस विषयमा के गर्ने भन्ने छलफल गरी ठोस प्रस्ताव तयार पार्ने र त्यसका लागि आवश्यक परे सचिवालय पनि बस्न सक्ने गरी जान सक्ने नेताहरुको भनाई छ । यो तयारी हेर्दा पार्टीले अब ओलीको राजीनामा बाहेक अन्य कुनै विकल्पमा छलफल गर्ने चाहेको देखिदैन । यस्तो बेला ओलीले चाल्ने गतिविधि अहिले निक्कै चासोको विषय बन्न पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस