नेपालमा कसरी आयो सलह ? यस्ता छन् कारण

शनिबार, १३ असार २०७७, १३ : ०८
नेपालमा कसरी आयो सलह ? यस्ता छन् कारण

काठमाडौँ । नेपालमा सलह किरा प्रवेश गरिसकेको छ । दुई दिनयता दक्षिणबाट उत्तरतिर हावा बहँदा भारतको बिहार हुँदै नेपाल प्रवेश गरेको नेपालका कृषि वैज्ञानिकहरुले जानकारी दिएका  छन् ।

शनिबार बिहान प्रदेश २ का बारा, पर्सा र सर्लाहीमा सलह देखिएका छन् । नेपाली वैज्ञानिकहरुका अनुसार दुईतीन अघि भारतको बनारस हुँदै गोरखपुरमा सलह देखिएको थियो । त्यसपछि सर्लाही, बारामा देखिएको हो ।

नेपाल कृषि अनुसन्धान परिषद्का किट वैज्ञानिक सुनिल अर्यालले दक्षिणबाट उत्तरतिर हावा बहँदा सलह नेपाल प्रवेश गरेको बताए । मनुसनुको बेला पूर्वबाट पश्चिमतिर हावा बहने गरे पनि दुईदिनयता दक्षिणबाट उत्तरितर हावा बहँदा सलह नेपाल आइपुगेको कृषि वैज्ञानिकहरुले अनुमान गरेका हुन् । यसअघि पनि उनीहरुले दक्षिणबाट उत्तरतिर हावा बहे नेपालमा सलह आउन सक्‍ने बताएका थिए ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख एवं कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गठन गरेको सलह किराको व्यवस्थापनका लागि गठित टास्क फोर्सका संयोजक सहदेव हुमागाईंले प्रदेश २ का जिल्लाहरुमा सलह देखिएको बताउँदै अहिले पहिचान गर्ने काम भइरहेको बताए । प्राविधिक टोलीले अहिले फिल्डमा गएर सलहको पहिचान गर्ने काम गरिरहेको छ । 

गुलाबी रंगका यी सलह मरुभूमिमा पाइनेजस्तो धेरै खन्चुवा नभएको बताउँदै नआत्तिन आग्रह गरेका छन् । किट विज्ञान महाशाखाका किट वैज्ञानिक एवं प्रवक्ता सुदीप उपाध्यायले अहिले विज्ञ टोलीले अध्ययन गरिरहेको बताए । प्रारम्भिक अनुसन्धानका क्रममा झुन्डबाट छुट्टिएर आएका सलह भएको उनले बताए । उनले भेटिएका सलह टुक्रिएर आएको र नआत्तिन आग्रह गरे ।

सलह नेपालमा प्रवेश गरेसँगै यसले कति असर गर्ला भन्‍ने विषयमा पनि चर्चा हुन थालेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गठन गरेको टास्क फोर्सका संयोजक सहदेव हुमागाईंले अहिले मनसुनको समय भएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए । उनले अहिले नेपालमा धान रोप्‍ने समय भएको र अन्नबालीहरु कम भएको उल्लेख गर्दै धेरै क्षति हुन नसक्ने बताए । 

हुमागाईंले धानको बिउहरुमा सलह बसिदियो भने सखाप पार्ने सम्भावना रहेको र तरकारी बाली नष्ट गर्ने सम्भावना भने रहेको बताए । यस्तै किट विज्ञान महाशाखाका वैज्ञानिक सुदीप उपाध्यायले पनि कृषकहरुलाई नआत्तिन आग्रह गर्दै नजिकैको कृषि कार्यालयमा गएर जानकारी गराउन भनेका छन् । नेपालमा मनसुनी प्रवाभ भएको र चिसो भएकाले सलहले धेरै क्षति नगर्ने अनुमान कृषि वैज्ञानिकहरुको छ । 

प्रतिक्रिया दिनुहोस