किन छल्न खोज्छन् प्रधानमन्त्री ओली पार्टी बैठक ?

सफल खबर संवाददाता

शनिबार, १३ असार २०७७, ०८ : ३८
किन छल्न खोज्छन् प्रधानमन्त्री ओली पार्टी बैठक ?

काठमाडौं । पार्टी नेताहरुको अपेक्षा विपरित प्रधानमन्त्री केपी ओलीले शुक्रबार नेकपाको स्थायी समिति बैठकमा सहभागी नै भईदिएनन्  । आफनो सयन कक्षबाट ३ मिनेटको दुरीमा रहेको र आफ्नै सरकारी निवास बालुवाटार भित्रकै बैठकमा उनी सहभागी नभएपनि नेताहरुले उनको खोजी गरे । पार्टी सच्चालन गर्ने तरिका यही हो ? भन्दै अष्टलक्ष्मी शाक्य, भीम रावल, पम्फा भुषाल देखि लिलामणि पोखरेल सम्मले कडा शब्दमा आपत्ति नै जनाए । तर पनि प्रधानमन्त्रीले नेताहरुको आवाजलाई टेरेनन् ।

साढे ५ घण्टा भन्दा लामो बैठक उनको आगनीमै भएपनि उनी बैठकमै नगएपछि स्वभाविक अर्थ लाग्छ, उनी पार्टी बैठक छल्न खोज्दैछन् । प्रधानमन्त्री ओलीले चाहेको र सोचेको नेकपाभित्र पुग्थ्यो भने उनले यो बैठक नै राख्ने थिएनन । विद्यानतः पार्टी स्थायी समिति बैठक तीन महिनामा राख्नुपर्ने भएपनि ६ महिनासम्म बस्न नसक्नु उनकै अनिच्छा थियो । अहिले पनि यो उनको चाहनामा भएको थिएन । पार्टी बैठकमा उनी केन्द्रविन्दुमा छन् । सरकार उनकै नेतृत्वमा छ । पार्टी उनकै कारण चलायमान हुन सकेको छैन । उनी पनि अध्यक्ष रहेकै कारण अर्का अध्यक्षलाई निर्वाध पार्टी सञ्चालन गर्न नदिई बन्धक बनाएर राखेका छन् । 

यसको जस अपजस स्वतः प्रधानमन्त्री ओलीकै काँधमा जाने स्वतः नै छ । यस अर्थमा पनि उनी बैठकमा आलोचनाको शिकार हुने निश्चित थिए । न उनले पार्टीसँग कुनै सल्लाहमा सरकार चलाएका छन, न पार्टीलाई चलायमान बनाउन छुट नै दिएका छन् । पेरिफेरी आफ्नै वरीपरी मात्र कैद गर्ने उनको चरम ब्यक्तिवादी सोचका कारण नेकपा यो पछिल्लो दुई वर्षमा दिन दिनै कमजोर बन्दै गएको छ ।  नेपालका दुई ठूला कम्युनिष्ट पार्टीको एकतापछि बनेको यो पार्टी र यसको नेतृत्वको झण्डै दुई तिहाई जनमत सहितको सरकारबाट पार्टी र आम सर्वसाधारण जनताले धेरै अपेक्षा गरेका थिए ।

तर यस्तो भईदियो, सरकारले जनताको मन जित्ने गरी, गाँस, बाँस र कपासको ब्यवस्थाका लागि यति एउटा राम्रो काम गरयो भन्ने कुनै मानक दिल दिमागमा छोड्न सकेन ।  नेकपाकै नेताहरुका भनाईमा ओली सरकार पूर्णत असफल भयो । अब पनि ओलीलाई नेकपाले सरकारको नेतृत्वमा टिकाईराख्ने हो भने नेकपाकै लागि खतराको घण्टी बजिसकेको छ । यो कुरा ओलीलाई पनि थाहा छ , तर उनी त्यो देखे नदेखे, सुने नसुने झै मात्र गरि बसेका छन् । आफ्नै सीमीत कोटरीमा रमाईरहेका ओलीलाई यसले कुनै प्रभाव पारेको छैन ।

सोही कारण पनि उनी त्यसलाई नजरअन्दाज गरेर बस्ने गरेका छन् । शुक्रबार आफ्नै निवासमा बसेको नेकपा बैठकमा सहभागी नहुनुमा पनि उनको त्यही एउटै कारण हो, पार्टीमा हुने आफ्नो चर्काे आलोचना । उनलाई राम्रोसँग थाहा छ, उनले सरकार प्रभावकारी ढंगले चलाउन सकेका छैनन् । जनतामा उनको क्रेज खस्कदो छ । त्यही कारण पनि उनी पार्टी बैठकमा आलोचना खेप्न जानै चाहदैनन् ।  ओलीले यस अगाडी पनि आफ्नै दैलोमा पार्टीका सचिवालय सदस्य सहितका नेताहरुले विज्ञहरुसहित गरेको एमसिसि छलफल पनि टारिदिएका थिए । आफ्नै निवासमा बैठक बोलाउन लगाउने र आफु चाही नजाने प्रवृतिले उनको मात्र होइन, उनकै सिंगो पार्टीलाई समेत बदनामी बनाईरहेको छ ।

सरकारी खर्चमा पार्टीको बैठक ? भन्दै प्रश्न उठाउने काम भएको छ । नेकपाका एक स्थायी समिति सदस्य भन्छन्, ओली अहिले पार्टीका लागि निल्नु न ओकल्नु बनेका छन् ।  न उनलाई सरकारको नेतृत्व फेरेर नेताहरु मसक्कै आटेर अगाडी बढ्न सक्छन्, न उनले नै आफनो कार्यशैली फेरेर अगाडी बढने हिम्मत गर्न सक्छन्, यी दुवै हुने देखिदैन, ती नेताले भने ।  ओलीको सरकार सञ्चालनको तौरतरिकासँग पार्टी नेताहरु सन्तुष्ट छैनन् । उनले एउटै कुरा बारम्बार बताईरहेका छन्, विभिन्न तथ्य तथ्यांकका आधारमा सरकार प्रभावकारी ढंगले अगाडी बढेको छ, तर पार्टीले त्यसको प्रचार नै गर्दैन् । ओलीको त्यस्तो तर्क अहिले पार्टीकै नेतालाई ट्यारट्यार लाग्न थालेको छ ।

जसको संकेत बुधबार उनले पार्टी बैठकमा सरकारको बखान लगाईरहदा वरिष्ठ नेता माधव नेपालले बीचमै कति सुननु यस्ता कुरा, काननै पाक्न थालिसक्यो भनी प्रतिवाद गरेका थिए ।  ओलीलाई नजिकवाट चिन्नेहरुका अनुसार, उनको कार्यशैली नै त्यस्तै हो । आफनो कुरा राख्ने, अरुका कुरा सुन्दै नसुन्ने । आफु मात्र सवै कुराको पोख्त, अरु सवै निकम्वा । ओलीको यो शैली पूरानै हो ।  पार्टी नेतृत्वमा नरहदा ओलीको शैली गुटबन्दी गर्ने, आफनो समुह बलियो बनाउने र मूल नेतृत्व माथी आक्रमण गर्ने हुन्थ्यो । त्यसबेला पनि उनी आफ्ना कुरा राख्ने र अरुका कुरामा खास मतलब नगर्ने शैली नै देखाउथे । अहिले नेतृत्वमा रहदा पनि उनको यो शैली गएको छैन् । उनी अरुका कुरा सुन्दै सुन्दैनन् । 

आफ्नो आलोचना हुने ठाउमा उनी बस्नै चाहदंैनन, कुरा सुन्नै चाहदैंनन । तर उनको वाहवाही गरिदिने जमात भेटियो भने उनी समयको कुनै वास्तै नगरी घण्टौं समेत बिताईदिन्छन, ओलीलाई नजिकबाट चिनेका हरु बताउँछन् ।  ओलीले गत मंसिर २९ देखि पुस ६ सम्म पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी समिति बैठकमा नाक मुख नै देखाएनन् । गत माघ १५ देखि १९ सम्म बसेको केन्द्रीय समिति बैठकमा पनि उद्घाटन र समापनमा बाहेक उनी नेताहरुका कुरा सुन्नै गएनन् । अहिले स्थायी समिति बैठक पनि उनले पटक पटक सार्ने काम गरेका थिए ।

तर बैठकको दबाब थेग्न नसकेपछि राखिएको बैठकमा समेत उनी सहभागी नै नभई छल्न खोजेका छन् । यसले पनि देखाउँछ ओलीमा आलोचना सुन्ने आँट छैन । हिम्मत छैन ।  शुक्रबारको बैठकमा सहभागी नभएका ओली आजको बैठकमा अब के गर्लान् ? आम चासो यसैमा छ । आज पनि उनी बैठकमा सहभागी नभए नेकपाभित्र पार्टी बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा राख्न दबाब पर्ने देखिएको छ । 

प्रतिक्रिया दिनुहोस