सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

रासस

शुक्रबार, १२ असार २०७७, १० : ५६
सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोध पछि स्थगन गरिएको छ । बैठक प्रारम्भ हुनासाथ आफ्नो आसनबाट उठेर प्रतिपक्षी दलका सदस्यले अवरोध गरेपछि सभामुख अर्जुनबहादुर थापाले एक जनालाई बोल्न अनुमति दिनुभयो ।

त्यसपछि राष्ट्रिय जनता पार्टीका कृष्णबहादुर चौधरीले कोरोना रोकथाम, सङ्क्रमितको उपचार व्यवस्थापन, क्वारेन्टिनको व्यवस्थापनजस्ता सबै काममा प्रदेश सरकार असफल  भएको, योजना बाँडफाँटमा भ्रष्टाचार भएको भन्दै कोरोना उपचार र व्यवस्थापनमा भएको भनिएको रु ९३ करोड खर्चको वास्तविक विवरण सदनलाई जानकारी गराउन र पिसिआर जाँचको दायर बढाउन माग गर्नुभयो ।

सभामुख थापाले प्रतिपक्षीबाट आएको विचारले सदनको ध्यानाकर्षण भएको र उठाइएका प्रश्नको सरकारले जवाफ दिन पनि सदन चल्नुपर्ने भएकाले आफ्नो आसनमा बस्न आग्रह गर्नुभयो ।  त्यसपछि पनि प्रतिपक्षी सदस्य आफ्नो आसनबाट उठेर विरोध गरेपछि सभामुखले बैठक स्थगन गरिएको जानकारी गराउनुभयो ।

लगातारको अवरोधसँगै प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७र०७८ को नीति कार्यक्रम र बजेट माथिको छलफल अघि बढ्न सकेको छैन । यसअघि असार १० गतेको बैठक पनि अवरुद्ध भएको थियो । आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट कार्यक्रममाथि छलफल शुरु गर्ने कार्यसूची रहेको थियो ।

प्रतिक्रिया दिनुहोस