महोत्तरीमा गोली चल्यो, श्रीमान-श्रीमती घाइते

सफल खबर संवाददाता

बुधबार, २० जेठ २०८३, ०७ : ५२
महोत्तरीमा गोली चल्यो, श्रीमान-श्रीमती घाइते

महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिकामा चोरी गर्न आएको समूहको प्रतिवाद गर्दा गोली लागेर एक दम्पती घाइते भएका छन्।  मंगलबार राति सोनमा गाउँपालिका-०३, खखना दक्षिणबारी टोलमा यो घटना भएको हो।

५/६ जनाको संख्यामा आएका लुटेरा व्यक्तिहरूको समूहले स्थानीय २७ वर्षीय रामईश्वर यादवको घरमा प्रवेश गरी चोरी गर्ने प्रयास गरेका थिए। घरभित्र छिरेका चोरहरूलाई देखेपछि रामईश्वर र उनकी २२ वर्षीया श्रीमती किरण यादवले प्रतिवाद गरेका थिए। सोही क्रममा लुटेरा समूहले उनीहरूमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

गोली लागेर घाइते भएका श्रीमान्-श्रीमती दुवैलाई तत्कालै उद्धार गरी प्रारम्भिक उपचार गरिएको थियो। थप उपचारका लागि उनीहरूलाई जनकपुर पठाइएको छ। 

घटनास्थलमा पुगेको प्रहरी टोलीले खानतलासी गर्दा एक थान गोलीको खोका बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान खुलेको छैन। फरार रहेका अभियुक्तहरूको खोजी कार्य तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।