सिजी ल्यान्डमार्कमा व्यवसायीले उच्च सावधानी अपनाएर सेवा दिन थाले

रासस

विहीबार, ११ असार २०७७, २० : १९
सिजी ल्यान्डमार्कमा व्यवसायीले उच्च सावधानी अपनाएर सेवा दिन थाले

चितवन । चितवनको भरपुरस्थित अत्याधुनिक सपिङ मल सिजी ल्यान्डमार्कमा विश्वविख्यात ब्रान्डका सामग्रीको कारोबार गरिरहेका व्यवसायीले उच्च सावधानीका साथ ब्रान्ड लोयल ग्राहकलाई सामान उपलब्ध गराउन थालेका छन् । जिल्लामा ब्रान्डेड सामानहरु अन्यत्र नपाइने हुँदा ब्रान्ड लोयल उपभोक्ताका लागि पर्याप्त सुरक्षा सावधानी अपनाएर सामान उपलब्ध गराउन थालेको मलमा पसल सञ्चालन गरिरहेका व्यवसायी विदुर पौडेलले जानकारी दिए । 

सरकारले अन्यत्र व्यवसाय गर्न अनुमति दिए पनि सपिङ मल खोल्न अनुमति दिएको छैन । यस्तो अवस्थामा ब्रान्ड लोयल ग्राहकका लागि विशेष व्यवस्था गरिएको उनले बताए । पर्याप्त सावधानीका साथ दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म सामान लिन सक्ने व्यवस्था मिलाएको उनको भनाइ छ ।

मल म्यानेजर उज्ज्वल केसी मलका व्यवसायीले सीमित समय पसल खोलेर ग्राहकलाई आवश्यक सामान उपलब्ध गराउन चाहेपछि आफूहरुले सहजीकरण गरेको बताउँछन् । सामाजिक दुरी, मास्क, स्यानिटाइजर जस्ता सुरक्षा सामग्रीको लगायत स्वास्थ्य सुरक्षासम्बन्धी अन्य मापदण्ड पूरा गरे÷नगरेको विषयलाई मल व्यवस्थापनले सुरक्षाकर्मी र सिसी क्यामेरामार्फत सूक्ष्म रुपमा निगरानी गरिरहेको म्यानेजर केसीले जानकारी दिए । ‘यो अप्ठेरो अवस्थामा ग्राहकको आवश्यकता पनि परिपूर्ति गर्नुपरेको छ, संक्रमणबाट पनि बच्नु÷बचाउनु छ,’ केसी भन्छन्, ‘त्यसकारण हामीले मलमा व्यवस्था गरिएको संयन्त्रमार्फत सूक्ष्म रुपमा निगरानी गरिहेका छौं । डब्लुएचओ र सरकारका सक्षम निकायले तोकेको प्रोटोकलविपरीतको काम कुनै हालतमा हुन दिँदैनौं ।’

मल व्यवस्थापनले सामाजिक दुरीको लागि मार्किङ, स्यानिटाइजर र साबुन पानीको व्यवस्था गर्नुका साथै मलका रेलिङ लगायत छोइने वस्तुहरुलाई नियमित रुपमा निःसंक्रमित गर्ने गरेको उनको भनाइ छ ।

 अर्का व्यवसायी रोशन तिवारी मल व्यवस्थापनले स्यानिटाइजर, साबुनपानीको व्यवस्था, तोकिएको सामाजिक दुरी कायम गर्न आवश्यक प्रबन्ध मिलाएर सहयोग गरेको बताउँछन् । ‘मलमा आउने जोसुकै पनि डराउन नपर्ने गरी व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘डर र जोखिम हामीलाई पनि छ । यी सबै पक्षलाई मनन गरेर पर्याप्त सावधानी अपनाएका छौं ।’ 

पुलचोकका सञ्जय खड्का ब्रान्डेड सामानका पसल खुलेपछि केही राहत मिलेको बताउँछन् । बुधबार मलमा भेटिएका उनले व्यवसायीले अपनाएको सावधानीको प्रशंसा पनि गरे । ‘यत्तिको सुरक्षा सावधानी मैले चितवनमा अन्त कतै देखेको छैन । यस्तै तरिका अपनाउने हो भने संक्रामक रोगको महामारीबीच पनि सुरक्षित तवरले काम गर्न सकिन्छ ।’ 

मिति २०७६ चैत्र ११ गते बाट भएको लकडाउनले मारमा परेका व्यवसायीहरुले ग्राहकको विशेष अनुरोध र टेलिफोन कल आएको हुनाले उक्त मलमा कोभिड –१९ सम्बन्धी सम्पूर्ण सुरक्षाको सावधानी अपनाएर पसल खोली सेवा दिन थालेको कुरा पनि यसै मलका एक व्यवसायी बताउँदछन् ।

प्रतिक्रिया दिनुहोस