चीनसँग नेपालको सीमा विवाद नरहेको सरकारको भनाइ

सीमा विवादको विज्ञप्ति मन्त्रालयबाट प्रकाशित नभएको कृषि मन्त्रालयको प्रतिक्रिया

सफल खबर संवाददाता

विहीबार, ११ असार २०७७, १८ : ३२
चीनसँग नेपालको सीमा विवाद नरहेको सरकारको भनाइ

काठमाडौं । सरकारले चीनसँग नेपालको सीमा विवाद नरहेको स्पष्टीकरण दिएको छ । चीनले नेपालको विभिन्न जिल्लामा गरी ३३ हेक्टर जमिन अतिक्रमण गरेको समाचार सार्वजनिक भएपछि बिहीबार परराष्ट्र मन्त्रालयले त्यसको खण्डन गरेको हो ।

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी हराएको भनिएको ३७ र ३८ नम्बरको सीमा स्तम्भ राख्दै नराखिएको बताएको छ । प्राकृतिक कारणले दुई देशबीचकै सहमतिमा ती स्तम्भ नराखिएको परराष्ट्रको भनाइ छ ।

नेपाल र चीनबीचको सीमा सन् १९६१ अक्टोबर ५ मा दुई देशबीच भएको सीमा सम्झौताले निर्धारण गरेबमोजिम रहेको परराष्ट्रले उल्लेख गरेको छ ।

सीमासम्बन्धी केही समस्या देखिएमा दुई देशबीचको समझदारीमा समाधान गर्ने पनि परराष्ट्रले विज्ञप्तिमा उल्लेख गरेको छ ।

यसअघि चीनसँग सीमा विवाद भएकोसम्बन्धी समाचार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको एक रिपोर्टका आधारमा प्रकाशन भएको थियो । तर कृषि मन्त्रालयले नै त्यस्तो प्रतिवेदन अस्तित्वमा नै नभएको बताएको परराष्ट्रले उल्लेख गरेको छ । 

कृषि मन्त्रालयले सीमासम्बन्धी विषय आफ्नो क्षेत्राधिकारमा नपर्ने पनि उल्लेख गरेको परराष्ट्रले विज्ञप्तिमार्फत बताएको छ । कृषि मन्त्रालयले बिहीबार नै विज्ञप्ति जारी गरी नेपाल र चीनबीच सीमा विवाद भनी उल्लेख गरिएको समाचारमा आधार बनाइएको प्रतिवेदन मन्त्रालयबाट प्रकाशित नै नभएको बताएको छ ।

मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ  ‘उक्त समाचारको आधार बनाइएको प्रतिवेदन यस मन्त्रालयबाट प्रकाशित नै नभएको र सोसम्बन्धी विषय कृषि मन्त्रालयको कार्य क्षेत्रसमेत नभएकाले उक्त समाचारमा कुनै सत्यता नरहेको सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

प्रतिक्रिया दिनुहोस