अमेरिकी विदेशमन्त्रीसँग सम्वाद गर्न ओली किन पन्छिए ?

अमेरिकी विदेशमन्त्रीले प्रधानमन्त्री ओलीसँगै टेलिफोन सम्वाद गर्न चाहेपनि ओली कार्यव्यवस्तता देखाउदै पन्छिए

सफल खबर संवाददाता

विहीबार, ११ असार २०७७, ०९ : २१
अमेरिकी विदेशमन्त्रीसँग सम्वाद गर्न ओली किन पन्छिए ?

काठमाडौं । विकास र सहयोग सम्बन्धी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सँगको कम्प्याक्ट सम्झौता नेकपाभित्रको विवादका कारण संसदमा अनुमोदन ढिलाई भएपछि अमेरिकाले चासो देखाएको छ ।  अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोले एमसीसी कार्यान्वयनमा नेपालमा भइरहेको ढिलाइबारे हिजो परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग टेलिफोन सम्वादमा चासो राखेका थिए । 

तर पोम्पियोले यस सम्बन्धमा ज्ञवालीसँग भन्दा पनि सिधा प्रधानमन्त्री केपी ओलीसँगै टेलिफोन सम्वाद गर्न चाहेका थिए । नेपालस्थित अमेरिकी दुतावासले सोही अनुसार सम्वादका लागि सिधै पोम्पिओले प्रधानमन्त्रीसँग कुरा गर्न चाहेको सन्देश पठाएको थियो । टेलिफोन सम्वादका लागि मध्यस्ता गरिरहेको नेपालस्थित अमेरिकी दुतावासले प्रधानमन्त्रीसँग विदेशमन्त्रीले कुरा गर्न चाहेको सन्देश बालुवाटारमा पठाएका थिए । तर बालुवाटार त्यसपछि के गर्ने अन्यौलमा पर्यो । 

एमसीसी संसदबाट अनुमोदनका लागि लगेकै वर्षदिन भईसकेको थियो । एमसीसी कार्यान्वयनका लागि गठन गरेको एमसीए नेपालसँगको सम्झौता कार्यान्वयनमा लैजाने नेपाल आफैले जनाएको असार १६ को प्रतिवद्धतामा पनि ब्रेक लाग्न पुगेको अवस्था थियो ।  सदनमा अनुमोदन हुन नसकिरहेको बेला संसद बैठक नै १७ असारसम्मलाई स्थगित भईसकेको थियो । पार्टीभित्र अनुमोदनको पक्षमा आफु अल्पमतमा रहेको र अप्ठयारोमा रहेको बेला प्रधानमन्त्रीले पोम्पिओसँग कुरा गर्न चाहेनन् । तर सम्वादलाई नै नकार्नुका हिसाबले पनि उपयुक्त नहुने निश्र्कषका साथ प्रधानमन्त्री ओलीले आफ्नो कार्यव्यस्तता देखाएर परराष्ट्रमन्त्रीलाई सम्वादमा जोडिन आग्रह गरे ।

ओलीले राष्ट्रपतिले आयोजना गरेको सर्वदलीय छलफलका लागि शितलनिवासमा जानुपर्ने भएकोले अमेरिकी विदेश मन्त्रीले भनेको समयमा उपलब्ध हुन नसक्ने जानकारी दिएपछि परराष्ट्रमन्त्री ज्ञवाली सम्वादमा जोडिएको बालुवाटार स्रोतको भनाई छ । सम्वादमा ज्ञवालीलाई पोम्पिओले एमसीसीमा किन ढिलाई भईरहेको ? भन्दै शुरुमै सामान्य शिष्टाचार पछि नै प्रश्न गरेको स्रोत बताउँछ ।

ओली आफैंलाई पार्टीभित्रै अझै अनिश्चित बनेको एमसीसी परियोजना अनुमोदन हुने नहुनेमा शंका छ । नेताहरुले अहिलेकै अवस्थामा अनुमोदन हुन दिदैनन् भन्ने ओलीले बुझिसकेका छन् । तर पनि कोसिस जारी राखेका छन् । तर पोम्पिओसँग आफैले प्रयास हुदंैछ मात्र भन्दा अप्ठयारो आइलाग्ने र अमेरिकाको अगाडी आफ्नो शक्ति कमजोर रहेको सन्देश जान सक्ने ठानी ओलीले परराष्ट्रमन्त्री ज्ञवालीलाई टेलिफोन वार्तामा जोडिन पठाएको हुन सक्ने विश्लेषण पनि हुन थालेको छ । 

ज्ञवाली र पोम्पिओसँगको सम्वाद पछि भने ओलीले के कुराकानी भए पनि जिज्ञासा राखेको बालुवाटार स्रोत बताउँछ । ज्ञवालीले संसदमा अनुमोदनका लागि सम्झौता पुगेको, पार्टीभित्र बहस भईरहेको र केही समय पछि नै अनुमोदनको चरणमा जाने भएकोले विस्वस्त हुन आग्रह गरेको स्रोतले बताएको छ । ज्ञवाली स्यवंले सञ्चारमाध्यमहरुसँग विदेशमन्त्री पोम्पिओले एमसीसीबारेमा जिज्ञासा राखेको र आफुले सकारात्मक रुपमा यसलाई टुंग्याउने प्रयास भईरहेको जानकारी गराएको बताएका थिए ।
 

प्रतिक्रिया दिनुहोस