रुकुममा प्रहरी धरपकड, सांसद घाइते

सफल खबर संवाददाता

बुधबार, १० असार २०७७, २० : ३८
रुकुममा प्रहरी धरपकड, सांसद घाइते

काठमाडौं । गत जेष्ठ १० गते रुकुम पश्चिमको सोतीमा भएको हिंसात्मक घटनामा ज्यान गुमाएका मृतकको गलत पोष्टमार्टम तयार गर्ने चिकित्सकलाई कानूनी कारवाहीका माग गर्दै भएको धर्नाका क्रममा प्रहरीले केही व्यक्तिलाई पक्राउ तथा धरपकड  गरेको छ । 

आज नेपाल सरकारका प्रधानमन्त्रीलाई ज्ञापन बुझाउने क्रममा शान्तिपूर्ण धर्नामा बसेका जनप्रतिनिधिमाथि प्रहरी हस्तक्षेप भएको समेत भन्दै कांग्रेस संसदीय दलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘ शान्तिपूर्वक ज्ञापन बुझाउन गएका व्यक्तिहरुलाई अन्धाधुन्ध लाठीचार्ज गरी बल प्रयोग गर्नु अत्यन्त निन्दनीय कार्य हो । यस कार्यको नेपाली कांग्रेस संसदीय दल घोर भत्र्सना गर्दछ’ काँग्रेस संसदीय दलको विज्ञप्तिमा भनिएको छ ।

आजको घटनाले वर्तमान सरकार स्वतन्त्र अभिव्यक्तिमा अंकुश लगाउने कार्यमा तल्लिन रहेको प्रष्ट भएको समेत काँग्रेसले ठहर गरेको छ । घटनामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य लक्ष्मी परियारलाई लाठी चार्ज गरी गम्भीर घाइते बनाएको काँग्रेसले जनाएको छ । 

यस्तै केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य जीवन परियारसहित राजकुमार हिङ्माङ्ग, टेकबहादुर विश्वकमा, रणबहादुर रम्तेल, शर्मिला वागचन्द, सुनिता मरिक, राम नेपाली, नानीमैयाँ पुरकुटी, सोभा विश्वकर्मा, संघर्ष दाहाल,हिक्मत महरा, लक्ष्मी थापा, धर्म विडुवाल, दुर्गा विश्वकर्मा लगायतलाई गिरफ्तार गरेको प्रति पनि नेपाली कांग्रेस संसदीय दलले खेद प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस