दमक । गर्मी र वर्षाको मौसम शुरु भएसँगै तराईमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाद्वारा सञ्चालित सर्पदंश उपचार केन्द्रको पछिल्लो तीन महिनाको तथ्याङ्कले सर्पदंशका बिरामी बढेको पाइएको हो ।
उपचार केन्द्रमा गत चैतमा ४२ सर्पदंशका बिरामीको उपचार भएको थियो भने वैशाखमा ४४ को उपचार भएको थियो तर जेठमा भने बिरामीको सङ्ख्या बढेर ८० जना पुगेको देखियो । असारको ६ दिनमै ३१ सर्पदंशका बिरामीले उपचार केन्द्रबाट उपचार पाएको केन्द्रका प्राविधिक हेमचन्द्र अधिकारीले जानकारी दिनुभयो । सर्पदंश उपचार केन्द्रमा वार्षिक एक हजार ५०० का हाराहारीमा सर्पदंशका बिरामीले उपचार सेवा पाउँदै आएका छन् ।
चिसो र सुक्खा मौसममा दुलोभित्र रहने सर्प गर्मीसँगै वर्षा हुन थालेपछि बाहिर निस्कने गर्नाले हरेक वर्ष यो मौसममा सर्पदंशका बिरामी बढ्ने गरेको उहाँले बताउनुभयो । तराई क्षेत्रमा गोमन, करेतजस्ता विषालु सर्पको डसाइका बिरामी आउने गरेका छन् भने पहाडी क्षेत्रबाट गुर्भे, हरेउजस्ता सर्पले टोकेका बिरामी यहाँ आउने गरेको उपचार केन्द्र इन्चार्ज देवी भण्डारीले बताउनुभयो ।
गर्मी र वर्षाको मौसममा सर्पको टोकाइको जोखिम धेरै हुने भएकाले घर वरिपरिको सरसफाइमा ध्यान दिन उपचार केन्द्र प्रमुख भण्डारीले आग्रह गर्नुभएको छ । त्यसैगरी राति अँध्यारोमा हिँड्दा टर्चलाइट लिएर मात्रै निस्कनुपर्ने, दाउराघाँस गर्दा पूरा बाहुलाको कपडा लगाउने र गमबुट लगाउने गर्नाले सर्पदंशबाट बच्न सकिने उहाँको भनाइ छ । त्यसैगरी विशेषगरी करेत सर्पले घरभित्रै टोक्ने भएकाले राति सुत्दा भुइँमा नसुत्ने, झुल टाँगेर मात्रै सुत्ने गर्दा पनि सर्पको टोकाइबाट बच्न सकिने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०७ असार २०७७, १० : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गमका स्थानीयलाई सर्पदंशको उपचार पाउनै समस्या
सर्लाहीमा सर्पदंशबाट एकजनाको मृत्यु
कञ्चनपुरमा एक वर्षमा करिब तीन सय सर्पदंशका बिरामीको उपचार
गर्मीका कारण बाँकेमा सर्पदंशका बिरामी बढ्दै
अब कटारी अस्पतालबाटै सर्पदंशको उपचार