क्वारेन्टिनमै किरिया शुरु  !

रासस

शुक्रबार, ०५ असार २०७७, १७ : ०७
क्वारेन्टिनमै किरिया शुरु  !

फाइल फोटो

बैतडी । दोगडाकेदार गाउँपालिका–७ चडेपानीका लीलाधर भट्ट आफ्ना बुबाको किरिया गर्न क्वारेन्टिनमा नै बस्नुभएको छ । 

    भारतको दिल्लीमा काम गर्दै आएका उहाँ चार दिनदेखि भूमिराज मावि चडेपानीको क्वारेन्टिनमा बसिरहनुभएको छ ।  उहाँका बुबा चिन्तामणि भट्टको ६ दिनअघि  निधन भएपछि उहाँले क्वारेन्टिनमै किरिया शुरु गर्नुभएको हो  । केही दिनअघि कञ्चनपुरको गड्डाचौकीबाट उद्धार गरी उहाँ दोगडाकेदार  पुग्नुभएको थियो ।  

    क्वारेन्टिनमा किरिया बस्न बाध्य भएको उहाँले गुनासो गर्नुभयो ।  घरमै बस्ने व्यवस्था मिलाउन गाउँपालिकालाई अनुरोध गरेको भए पनि घर पठाउन नमानेको स्थानीयवासी केशव भट्टले जानकारी दिनुभयो  । 

    भारतबाट आएका सबै नागरिकलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्नुपर्ने निर्देशनअनुसार नै उहाँलाई क्वारेन्टिनमा राखेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताउनुभयोे । लीलाधरको स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि  पठाइएको र १४ दिनअघि नै रिपोर्ट नेगेटिभ आए घर पठाइने उहाँले बताउनुभयो । यसअघि गत जेठ दोस्रो साता बैतडीको मेलौली नगरपालिका–७ पच्कोराका रामसिंह रावत पनि आफ्ना बुबाको किरिया क्वारेन्टिनमा बस्नुभएको थियो ।  (रासस)

प्रतिक्रिया दिनुहोस