Safal Khabar - पोर्चुगलमा आठ हजारलाई निःशुल्क पिज्जा खुवाउँदै  नेपाली सेफ टङ्क सापकोटा
शुक्रबार, २६ असार २०७७ (Friday, 10 July, 2020)
विस्तृतमा हेर्नुहोस् »
पोर्चुगलमा आठ हजारलाई निःशुल्क पिज्जा खुवाउँदै  नेपाली सेफ टङ्क सापकोटा
शुक्रबार, ०५ असार २०७७, १४ : ५७
पोर्चुगलमा आठ हजारलाई निःशुल्क पिज्जा खुवाउँदै  नेपाली सेफ टङ्क सापकोटा
फाइल फोटो

– भगवान् गिरी
लिस्बन । विश्वमा इटालेली खानाका लागि बीसौँ नम्बरभित्र पर्ने पोर्चुगलका नेपाली सेफ टङ्क सापकोटाले एक आठ हजार जनालाई आठ हजार पिज्जा निःशुल्क खुवाउने अभियान शुरु गर्नुभएको छ । 

    ‘एक्लैले संसार बदल्न सक्दैनौँ, तर संसार बदल्न सहयोग गर्न सक्छौँ’ भन्ने नाराका साथ कोरोना कहरबाट प्रभावितका लागि टोली नै लिएर सापकोटा एक महिनाभित्र पिज्जा खुवाउन मैदानमा उत्रनुभएको हो ।  अभियान असार २ गतेदेखि  शुरु भइसकेको छ । इटालेली पिज्जाका लागि पोर्चुगलमा उत्कृष्ट सेफका रूपमा उहाँ धेरै पटक सम्मानित भइसक्नुभएको छ ।

    बाग्लुङको दमकेमा जन्मिएर युरोपका विभिन्न देश हुँदै २४ वर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो बनाउनुभएका ४५ वर्षीय सापकोटा  विभिन्न  सेवामूलक काम र सहयोग पु¥याएकाले पनि सुपरिचित हुनुहुन्छ । कोरोनाको महामारीबाट समस्यामा परेका मानिसलाई आफ्नो निजी खर्चमा सेवाभावले पिज्जा खुवाउने अभियान चलाइएको  सापकोटाले राससलाई बताउनुभयो ।

Yeti Diistillery

    पोर्चुगलको राजधानी लिस्बनका २४ वटा वडाका समस्याग्रस्त मानिसलाई पिज्जा खुवाउने लक्ष्य राखिएको छ । “लिस्बन महानगरका काउन्सिलर कार्लोस कास्तुको समन्वयमा सम्बन्धित स्थानमा नै पिज्जा बनाएर खुवाउन हाम्रो टिम जुटेको छ”, सापकोटाले भन्नुभयो । घुम्ती शिविर हरेक वडामा सञ्चालन हुने र  घरघरमा पिज्जा पु¥याइने छ ।  स्थलगत पिज्जा तयार पार्ने व्यवस्थापनमा  नेपाली व्यवसायी लक्ष्मीप्रसाद सापकोटा पनि लागिपर्नुभएको छ ।

    मूलतः एशियाली र अफ्रिकी तथा पोर्चुगिसलाई पिज्जा वितरण गर्ने लक्ष्य छ । सामान्यतः एउटा पिज्जा तयार गर्न नौ युरो अर्थात् झण्डै रु एक हजार एक सय  लाग्ने अनुमान छ  ।  अभियानलाई नै आवश्यक पर्ने पिज्जा बनाउनका लागि उहाँले ३० हजार युरो(झण्डै रु ४० लाख) पर्ने चुल्हो(फोर्नाे) उहाँले किन्नुभएको छ । उहाँको अभियानमा  ७० हजार युरो (रु ८५ लाखदेखि ९० लाख) खर्च हुने जनाइएको छ ।

     अभियानमा लिस्बन नगरपालिकाका मेयरले महत्वाकाङ्क्षी योजनामा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ  । काउन्सिलर कार्लोस कास्तुले आफैँ पिज्जा बनाउने स्थलमा उपस्थित भई उहाँको कामको हौसला प्रदान गर्नुभएको छ ।  एक नेपालीले यति ठूलो पुण्य काम गरेकामा लिस्बन नगरपालिका सधैँ साथमा रहेको उहाँले बताउनुभयो ।

    अभियान पोर्चुगलभरि नै सञ्चालन गर्ने उहाँको अठोट छ । “समाजसेवा भनेको मनदेखि नै आउनुपर्छ । अ स्वार्थरहित समाजसेवामा लागेको हुँ”, उहाँले  भन्नुभयो । उक्त अभियानमा ५०० स्वयंसेवक परिचालन गरिएको छ । एघार कर्मचारी पारिश्रमिक लिएर उक्त अभियानमा खटिरहेका छन् ।

    यसअघि सापकोटा विश्वको सबैभन्दा महँगो र  दुर्लभ च्याउ (हाइट्ट्राफल) पोर्चुगलमा भित्र्याउने पहिलो नेपालीको पहिचान बनाउन सफल हुनुभएको छ । हाल पोर्चुगलमा तीन इटालियन र एक नेपाली रेस्टुरेन्ट सञ्चालनमा छन् । एक इटालेली रेस्टुरेन्टमा पिज्जा तयार पार्न सुनको चुल्हो तयार राखिएको छ ।

    उहाँको रेस्टुरेन्टमा पोर्चुगलका विभिन्न क्षेत्रका चर्चित व्यक्तित्व, कलाकार, फुटबल खेलाडी र राजनीतिज्ञको जमघट हुने गरेको छ । पोर्चुगलका वर्तमान राष्ट्रपति मार्सेलो रेवेलो दे सौसा र  प्रधानमन्त्री एन्तानियो कोस्टा पनि  धेरै पटक आफूले बनाएको पिज्जा खान रेस्टुरेन्ट आउने गरेको  सापकोटाले आफ्नो अनुभव सुनाउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस