काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतले अतिक्रमण गरेको नेपाली भूमि प्राप्त गर्न अभूतपूर्व राष्ट्रिय एकता पैदा भएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७७’ विधेयकमाथिको दफावार छलफलमा सहभागी हुँदै उहाँले सार्वभौमिकता र भौगोलिक अखण्डताका विषयमा सबै राजनीतिक दल र नेपाली जनता एक ढिक्का बनेको बताउनुभयो ।
दलबीचको एकता संविधान संशोधनमा मात्र सीमत नहुने उहाँको भनाइ थियो । अतिक्रमित भूमि जसरी भए पनि फिर्ता गर्ने राष्ट्रिय सङ्कल्प जारी भइसकेको र सीमा समस्या समाधान गर्न सबै दलबीच एकता हुनु सुखद भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “इतिहासको कालखण्डमा सीमा तथा राष्ट्रिय मुद्दामा जसले कमीकमजोरी गरेको भए पनि उहाँहरुले आत्मसात् गर्नुभयो भने ठीकै हुन्छ तर अहिले आरोप प्रत्यारोप नगरौँ ।”
भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र कब्जा गरेका अवस्थामा नेपालले तत्कालै प्रतिवाद गर्न नसकेको विषयमा प्रश्न उठ्नु स्वाभाविक भएको उल्लेख गर्दै उहाँले इतिहासमा भएका केही कमजोरीले वर्तमानमा समस्या पैदा गरेको बताउनुभयो । “यो भूमि नेपाली भूमि हो, यसलाई प्राप्त गर्नुपर्छ भन्नेमा हामी सबै एक ढिक्का भएका छौँ”, श्रेष्ठले भन्नुभयो, “यो मुद्दामा हिजो कहाँ कमीकमजोरी भयो भन्नेमा सन्दर्भवश चर्चा गर्नु एउटा कुरा हो तर अहिले यसैलाई मूल मुद्दा बनाएर आरोप प्रत्यारोप गर्नेतर्फ लाग्नु हुँदैन ।”
उहाँले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा अतिक्रमित भूमि फिर्ता गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो । सन् १८१६ को सुगौली सन्धिले कालीनदी पश्चिमी भूभाग भारतलाई छाड्ने भनेको उल्लेख गर्दै उहाँले सुगौली सन्धिले महाकाली नदी र सोपूर्वका भूमि नेपाली भूमि मानेको दृष्टान्त पेश गर्नुभयो ।
लिम्पियाधुराबाट बग्ने काली नदीलाई नै सीमा नदीका रुपमा भारतले यसअघिका आफ्नो नक्शामा समावेश गरेको उल्लेख गर्दै उहाँले सात दिनपछि भारतले नक्शामा काली नदी ‘डिलिट’ गरेको बताउनुभयो । “यसले के पुष्टि गर्छ भने सुगौली सन्धिले निर्दिष्ट गरेको काली नदीपूर्वको भूमि नेपालकै हो”, उहाँले भन्नुभयो, “यही आधारमा सो भूमि नेपाली क्षेत्र हो भन्ने पुष्टि भएको छ, सुगौली सन्धिले निर्धारित गरेको भूमि हामीले कुनै अर्को सन्धि गरेर भारतलाई सुम्पेका छैनौँ ।”
कालापानीमा रहेको भारतीय सैनिक फिर्ता जानुपर्छ भन्नेमा दृढ अडान पेश गर्दै उहाँले वार्तामा बसेर विवाद समाधान गर्नुर्नेमा जोड दिनुभयो । “कूटनीतिक संवाद नै सीमा विवाद समाधानको एक मात्र विकल्प हो, परराष्ट्र सचिवस्तरीय वार्ता गर्न नेपालले पटकपटक आह्वान गरे पनि भारतले चासो दिएन”, पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठले भन्नुभयो, “कूटनीतिक वार्ता गरौँ ऐतिहासिक तथ्य र प्रमाणका आधारमा सीमा विवाद समाधान गरौँ ।”
उहाँले छिटोभन्दा छिटो वार्तामा बसेर सीमा विवादलाई सल्टयाउन भारतसँग आग्रह गर्नुभयो । नेपालले कूटनीतिक वार्ता गर्न कुनै भाँजो नहालेको उल्लेख गर्दै उहाँले भारतको हेपाहा प्रवृत्ति सह्य नभएको बताउनुभयो । “तपाईँहरुसँग तथ्य प्रमाण छन् भने वार्तामा राख्नुस्, त्यो सही सत्य हो भने हामी मानौँला, फेरि संविधान संशोधन गरौँला” उहाँले भन्नुभयो, “त्यो भूमि नेपालको हो भन्ने हामीसँग ऐतिहासिक प्रमाण छ ।” नेकपाका सचेतक खिमलाल भट्टराईले नेपाल–भारत सम्बन्धलाई प्रगाढ बनाउनका लागि भारतलाई ‘बढेभाइ’ प्रवृत्ति अन्त्य गर्न आग्रह गर्नुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०४ असार २०७७, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देश अप्ठेरो अवस्थामा छ, देशभक्त शक्तिहरू एकताबद्ध होऔँ’ : नारायणकाजी श्रेष्ठ
फागुन २१ को चुनावपछि विशेष महाधिवेशन गरौं: नारायणकाजी श्रेष्ठ
सरकारलाई सहयोग गर्दै घोषित मितिमा चुनावका लागि एकजुट हुन् नारायणकाजी श्रेष्ठको अनुरोध
‘जेन जेडको प्रदर्शनले भ्रष्ट राजनीतिबाट देशलाई मुक्त गराउनेछ’ : नारायणकाजी श्रेष्ठ
अदालतको अवहेलना मुद्दामा नारायणकाजी श्रेष्ठसँग सर्वोच्चद्वारा लिखित जवाफ माग
न्यायपालिका अहिले गम्भीर संकटमा छ : नारायणकाजी श्रेष्ठ