बन्दाबन्दीमा पनि भित्रियो विदेशी लगानी

पत्रपत्रिकाबाट

विहीबार, ०४ असार २०७७, ०८ : १८
बन्दाबन्दीमा पनि भित्रियो विदेशी लगानी

काठमाडौं । बन्दाबन्दीका कारण आर्थिक गतिविधि ठप्प रहेको र लगानीमा सङ्कुचन आएका बेला नेपालले करिब दुई अर्ब रुपियाँ प्रत्यक्ष विदेशी लगानी प्राप्त गरेको छ ।

राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको वैशाखसम्मको देशको आर्थिक तथा वित्तीय स्थितिअनुसार समीक्षा अवधिसम्म नेपालले १७ अर्ब ४२ करोड रुपियाँ विदेशी लगानी भियाएको छ । यसमध्ये करिब दुई अर्ब रुपियाँ चैत र वैशाखमा मात्र प्राप्त भएको तथ्याङ्कले देखाउँछ ।

केन्द्रीय बैङ्कको तथ्याङ्कअनुसार नेपालले गत फागुनसम्म १५ अर्ब ६१ करोड रुपियाँ विदेशी लगानी भियाएको थियो । लकडाउन सुरु भएको चैत महिनामा मात्रै ८७ करोड रुपियाँ विदेशी लगानी भित्रिएको थियो । त्यसपछि वैशाखमा मात्रै ९४ करोड रुपियाँ विदेशी लगानी प्राप्त भएको तथ्याङ्कले देखाएको छ ।

यस हिसाबले बन्दाबन्दीका दुई महिनामा मात्रै नेपालले एक अर्ब ८१ करोड रुपियाँ विदेशी लगानीबापत ल्याएको छ । अघिल्लो आर्थिक तुलनामा वैशाखसम्म प्राप्त विदेशी लगानी करिब आठ अर्ब रुपियाँले बढी हो । गत आवको वैशाखसम्म नेपालले नौ अर्ब ४७ करोड रुपियाँ प्राप्त गरेको थियो । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस