नुनदेखि सुनसम्मका खानी उत्खनन

पत्रपत्रिकाबाट

विहीबार, ०४ असार २०७७, ०७ : ०६
नुनदेखि सुनसम्मका खानी उत्खनन

फाईल फोटो

काठमाडौँ । मुलुकको विभिन्न दस स्थानमा रहेका नुनदेखि सुनसम्मको खानी अन्वेषण तथा उत्खनन गरिने भएको छ । खानी तथा भूगर्भ विभागद्वारा सुन, तामा, चुनढुङ्गा, नुन, कोइला, ग्रेनाइट र केओलिन लगायतका खनिज पदार्थको अन्वेषण तथा उत्खननका लागि अनुमति प्रदान गर्न बुुधबार सूचना आह्वान गरिएको छ ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले मुलुकको विभिन्न दस ठाउँमा रहेको खानीको अन्वेषण तथा अध्ययनका लागि अनुमति प्रदान गर्न प्रक्रिय स्वरूप सूचना आह्वान गरिएको जानकारी दिनुभयो । दसवटामध्ये चार ठाउँमा उत्खनन (माइनिङ) गर्न र बाँकी ठाउँमा अन्वेषण (प्रोसपेक्टिङ)का लागि अनुमतिपत्र प्रदान गर्न सूचना आह्वान गरिएको उहाँले बताउनुभयो ।

अन्वेषणको अनुमति पत्रका लागि ३५ दिन र उत्खननका लागि ५० दिनभित्र निवेदन दिन आह्वान गरिएको छ । उत्खननका लागि दसदेखि तीस वर्षसम्म र अन्वेषणका लागि दुई वर्ष प्रदान गरिने महानिर्देशक घिमिरेले जानकारी दिनुभयो । महानिर्देशक घिमिरेका अनुसार दुईवटा चुनढुङ्गा खानी र एक÷एकवटा नुन तथा ग्रेनाइट खानीको उत्खननका लागि अनुमति दिन सूचना आह्वान गरिएको हो । गोरखापत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस