मेस्सीको गोल सहित बार्सिलोना विजयी

सफल खबर संवाददाता

बुधबार, ०३ असार २०७७, ०८ : ४६
मेस्सीको गोल सहित बार्सिलोना विजयी

एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोनाले लगातार दोस्रो जित दर्ता गरेको छ । कोरोना भाइरसको महामारीपछि पुनः सुरु भएको खेलको लिग अन्तर्गत मंगलबार राति भएको खेलमा बार्सिलोनाले लेगानेशलाई २–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि आन्सु फाती र लियोनल मेस्सीले गोल गरे। १७ वर्षका फातीले ४२ औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । उनले यो सिजन ला लिगामा पाँचौँ गोल गरेका हुन् । गिनी–बिसाउका किशोर फातीले उत्कृष्ट फिनिसिङ्ग मार्फत गोल गरेका हुन् ।

६९ औँ मिनेटमा बार्सिलोनाले पेनाल्टी पायो । त्यसमा मेस्सीले गोल गरेपछि बार्सिलोना २–० ले विजयी भयो। जितपछि बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँगको अंक दूरी पाँच कायम गरेको छ । बार्सिलोनाको २९ खेलबाट ६४ अंक भएको छ । एक खेल कम खेलेको रियल मड्रिडको ५९ अंक छ ।

मंगलबार राति नै भएका खेलमा भिल्लारियलले मालोर्कालाई १–० ले हरायो भने गेटाफे र स्पानियोलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रतिक्रिया दिनुहोस