‘खान नमिल्ने’ चिनीको छानबिन

पत्रपत्रिकाबाट

मंगलबार, ०२ असार २०७७, ०८ : ३९
‘खान नमिल्ने’ चिनीको छानबिन

काठमाडौं । सरकारले ‘खान अयोग्य’ चिनीलाई ‘योग्य’ बनाइएको विषयमा छानबिन गर्ने भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उक्त चिनी प्रकरणमा छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति गठन गरेको हो।

समितिमा सहसचिव डा. नारायणप्रसाद रेग्मी संयोजक छन्। प्रशासन विभाग प्रमुख र पशु सेवा विभागका महानिर्देशक सदस्य रहने मन्त्रालयले जनाएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘खान अयोग्य र आयात गर्न नमिल्ने’ चिनीलाई ‘योग्य’ बनाएर ‘आयात गर्न’ अनुमति दिएको थियो। विभागले आर्थिक चलखेल र पहुँचका आधारमा आफ्नै कार्यालयको प्रतिवेदनलाई उल्टाएर उपभोक्ताको ज्यानै जाने गरी ‘खान नमिल्ने’ चिनीलाई ‘खान मिल्ने’ बनाएर आयात गर्ने अनुमतिसमेत प्रदान गरेको छ।

जलेश्वरस्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले ‘आयात गर्न अयोग्य र उपभोग गर्ने म्याद नाघिसकेको’ भन्दै दिएको प्रतिवेदनलाई विभागले लत्याएको छ। खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय विभाग मातहतकै कार्यालय हो। अन्नपूर्ण पोस्टमा खबर छ ।