भरतपुर महानगरपालिकाको शिक्षाको विकासमा १८ करोड लगानी गुणस्तरीय शिक्षा आजको आवश्यकता : प्रमुख दाहाल

सोमबार, ०१ असार २०७७, १७ : ४३
भरतपुर महानगरपालिकाको शिक्षाको विकासमा १८ करोड लगानी गुणस्तरीय शिक्षा आजको आवश्यकता : प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिकाको शिक्षा क्षेत्रको विकासमा झन्डै १८ करोड लगानी हुने भएको छ । यो लगानी चालु आर्थिक वर्ष र आगामी वर्ष २०७७\७८ मा खर्च गरिनेछ । 

शिक्षा क्षेत्रमा मात्र १८ करोड लगानी भरतपुर महानगरको शैक्षिक विकासमा खर्चेको हालसम्मको ठूलो लगानी हो । जिल्ला आयोजना कार्यान्वयन इकाइ भरतपुरबाट १७ वटा विद्यालयको भवन निर्माणको लागि मोटामोटी ११ करोड ७० लाख लगानी हुने भएको छ । 

यस्तै संघीय सरकारबाट भरतपुर महानगरको शिक्षामा एक करोड ३३ लाख लगानी हुने भएको छ । यसैगरी भरतपुर महानगरको आन्तरिक स्रोतबाट चार करोड ९५ लाख लगानी हुने भएको छ । संघीय सरकारबाट आएको बजेट र भरतपुर महानगरको आन्तरिक स्रोतबाट शिक्षामा लगाइएको बजेटको काम यही चालु आर्थिक वर्ष सक्नुपर्छ भने जिल्ला आयोजना कार्यान्वयन इकाइ भरतपुरबाट भएको लगानीको काम आगामी वर्ष २०७७÷७८ को माघसम्ममा सक्नुपर्छ । 

शिक्षालाई प्रमुख प्राथमिकता : दाहाल 

भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकाले शिक्षालाई प्रमुख प्राथमिकता दिएको बताउनुभएको छ । उहाँले शिक्षामा प्रदेश, संघीय र महानगरको आन्तरिक स्रोतबाट ठूलो लगानी भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गुणस्तरीय शिक्षा आजको आवश्यकता हो, शिक्षाको विकासकै कारण समग्र क्षेत्रको विकासमा योगदान पुग्छ, त्यसकारण पनि शिक्षालाई प्रमुख प्राथमिकता दिएका हौँ ।’ 

प्रमुख दाहालले प्रदेश, संघीय सरकारको समन्वय र सहयोगमा सिङ्गो भरतपुर महानगरको शिक्षाको विकासमा लागिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विद्यालयका भवनमा लगानी गरेका छौँ, छाना मर्मतदेखि खानेपानी र शौचालयसम्म निर्माणमा महानगरले लगानी गरिरहेको छ, यो सबै गुणस्तरीय शिक्षाको लागि नै हो ।’ उहाँले भरतपुर महानगरको शिक्षाको गुणस्तर काठमाडौँ र पोखरा महानगरको बराबरी हैसियतमा लैजान आफू प्रतिबद्ध भएर लागिरहेको बताउनुभयो । 

महानगर प्रमुख दाहालले भन्नुभयो, ‘आजको शिक्षा गुणस्तरीय हुनुपर्छ, प्रतिस्पर्धी हुनुपर्छ, सबल र सक्षम किसिमको हुन जरुरी छ, त्यसकारण पनि शिक्षाको विकासमा सम्झौता हुँदैन ।’ उहाँले आगामी वर्ष शिक्षाको विकासमा अझ लगानी थप्ने र भरतपुर महानगरलाई शैक्षिक हब बनाउने प्रतिबद्धतासमेत गर्नुभएको छ । 

उहाँले भन्नुभयो, ‘आगामी वर्षको माघसम्म सम्पूर्ण काम सक्ने गरी भरतपुर महानगरको शैक्षिक गुणस्तर बढाउन जुन लगानी भएको छ, यो लगानी हालसम्मकै ठूलो लगानी हो, यस लगानीले यहाँको शिक्षाको विकासमा ठूलो परिवर्तन आउने अपेक्षा गरेकी छु ।’

भरतपुर महानगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तरीय विकासलाई प्राथमिकतामा राखेर आवश्यक बजेटको व्यवस्था गरी काम अगाडि बढाइएको उहाँले बताउनुभयो । गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय पूर्वाधार आवस्यक भएको भन्दै प्रमुख दाहालले पूर्वाधार निर्माणलाई यस आवमा बढी जोड दिइएको बताउनुभयो ।

बदलिँदो परिस्थिति बमोजिम कक्षा कोठा, शौचालय, शुद्ध पिउनेपानी  र उपयूक्त खेलमैदानका साथै प्रविधिमैत्री शिक्षण सिकाइ विधिलाई अबलम्बन गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । यस आर्थिक वर्षमा महानगर संघ र प्रदेशसँग समन्वय गरेर आफूले यी आयोजनाहरू अगाडि बढाइ सम्पूर्ण आयोजनाहरू सम्पन्न हुने चरणमा रहेको बताउँदै आउने आगामी आर्थिक वर्षमा पनि यी कार्यक्रमहरूलाई निरन्तरता दिने बताउनुभयो । भरतपुर महानगरपालिका क्षिक्षा क्षेत्रमा गुणात्मक बिकास गर्दै  शिक्षणमा परिणाम खोज्ने उदस्यका साथ अगाडि बढिरहेको भन्दै यो सबै तहका सरकार, शिक्षक विद्यार्थी र अभिवावकको सामुहिक प्रयासले मात्र पुरा हुने बताउनुभयो ।

१७ विद्यालयलाई चार कोठाको भवन 

भरतपुर महानगरका १७ वटा विद्यालयमा चार वटा कोठाको नयाँ भवन निर्माणको काम यतिबेला भइरहेको छ । जिल्ला आयोजना कार्यान्वयन एकाई भरतपुरको सहयोगमा भवन निर्माणको काम भइरहेको छ । एउटा विद्यालयमा ६८ लाखदेखि ७० लाखसम्मको भवन बनाइने जिल्ला आयोजना कार्यान्वयन एकाई भरतपुरले जनाएको छ । 

कार्यालयका निमित्त प्रमुख हेमचन्द्र शर्माले १७ वटा विद्यालयमा चार कोठाको भवन बनाउँदा करिब ११ करोड ७३ लाख लगानी हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो बहुवर्षिय आयोजना हो, तर आगामी माघसम्म १७ वटा विद्यालयले चार वटा कोठाको भवन निर्माणको काम सक्नुपर्छ ।’ 

राष्ट्रिय आधारभूत विद्यालय बह्मनगर, भरतपुर मावि भरतपुर, बालकुमारी कन्या मावि नारायणगढ, अरुणोदय मावि गीतानगर, राष्ट्रिय आधारभूत विद्यालय मंगलपुर, मावि गौरीगञ्ज, भानु मावि पहारिलोटार, भद्रकुमारी राष्ट्रिय आधारभूत विद्यालय, प्रेमबस्ती मावि, जनज्योति मावि, नारायणी नमुना मावि, मावि गंगानगर, मावि इन्द्रपुरी, भीमनगर मावि, लक्ष्मी मावि लंकू, सिद्धार्थ माविमा चार कोठाको नयाँ भवन निर्माणको काम भइरहेको छ । 

तीन कोठाको भवन महानगरका दुई वटा विद्यालयमा जिल्ला आयोजना कार्यान्वयन एकाई भरतपुरले निर्माण गरिरहेको छ । किरण अमरजंग मावि र रामनगर माविमा ३६ देखि ३८ लाखसम्मका तीन कोठाको भवन निर्माण भइरहेको आयोजनाले जनाएको छ । यसैगरी आठ वटा विद्यालयमा दुई कोठााको भवन पनि आयोजनाले बनाइरहेको छ । 

राआवि ठिमुरा, लक्ष्मी मावि जगतपुर, राआवि तोरीखेत, राआवि लौखुरी, आधारभूत विद्यालय सूर्यनगर, राआवि घैलाघारी, राआवि स्याउली र राआवि कमलपुरमा दई वटा कोठाको भवन निर्माणको काम भइरहेको छ । एउटा विद्यालयमा दुई वटा कोठाको भवन निर्माणमा २६ देखि २७ लाख लगानी भएको छ । 

यसैगरी भरतपुर महानगरका १६ वटा विद्यालयमा खानेपानी र १६ वटा विद्यालयमा शौचालय निर्माणको पनि काम भइरहेको आयोजनाले जनाएको छ । एउटा विद्यालयको शौचालय निर्माणमा १२ देखि १५ लाख लगानी भएको छ भने खानेपानी निर्माणमा ३ देखि ७ लाख लगानी भएको छ । 

संघीय सरकारबाट एक करोड १२ लाख

संघीय सरकारबाट भरतपुर महानगरको शिक्षाको विकासमा एक करोड १२ लाख लगानी भएको छ । संघीय सरकारबाट महानगरका ६ वटा विद्यालयमा दुई कोठाको भवन निर्माणको काम भइरहेको छ । आदिकवि भानु माविमा दुई कोठाको, आधारभूत रंगिला २ कोठाको, मावि ढड्डाघारीमा २ कोठाको, हिमालयन दण्डपाणिमा ४ कोठाको, राआवि वीरेन्द्रनगरमा २ कोठाको, चमेलीदेवी पियामा २ कोठाको संघीय सरकारबाट भवन निर्माणको काम भएको भरतपुर महानगर नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेलले बताउनुभयो । यस्तै भरतपुर महानगरमा संघीय सरकारबाट ३ वटा विद्यालयमा शौचालय निर्माणको पनि काम भइरहेको नगर शिक्षा अधिकारी पौडेलले भन्नुभयो ।

महानगरको आन्तरिक स्रोतबाट ४ करोड ९५ लाख 

भरतपुर महानगरले आन्तरिक स्रोतबाट नगरको शिक्षामा ४ करोड ९५ लाख लगानी गरेको छ । नगर शिक्षा अधिकारी पौडेलका अनुसार विभिन्न स्कुलको फर्निचरमा १८ लाख, विज्ञान प्रयोगशालामा २४ लाख, रंगरोगमा ४२ लाख लगानी गरेको छ । उहाँले भौतिक सुदृढीकरणमा २ करोड ४६ लाख, छाना तथा अन्य मर्मतमा १ करोड ६५ लाख लगानी भएको बताउनुभयो । 

भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखाका अधिकृत ऋषिराम शर्माले महानगरले शिक्षामा आमुल परिवर्तन ल्याउनको लागि विशेष पहल गरेर लगानी भएको बताउनुभयो । उहाँले भवन निर्माणदेखि शौचालय, रंगरोगनको काम भइरहेको र असार मसान्तसम्म महानगरको आन्तरिक स्रोतको शिक्षाको लगानीको काम लगभग पूर्ण हुने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस