गोर्खा सैनिकको तारिफ गर्दै भारतीय रक्षामन्त्रीले भने– दुनियाँको कुनै पनि शक्तिले नेपाल–भारतको गहिरो सम्बन्धलाई तोड्न सक्दैन

सफल खबर संवाददाता

सोमबार, ०१ असार २०७७, १६ : ०८
गोर्खा सैनिकको तारिफ गर्दै भारतीय रक्षामन्त्रीले भने– दुनियाँको कुनै पनि शक्तिले नेपाल–भारतको गहिरो सम्बन्धलाई तोड्न सक्दैन

एजेन्सी । भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार उत्तराखण्डमा भारतीय जनता पार्टीको एक कार्यक्रमलाई भर्चअुल सम्बोधन गर्दै नेपालसँगको सम्बन्ध विशेष रहेको बताएका छन् । 

उनले लिपुलेकमा सडक निर्माण र नेपालले नक्सा जारी गरेपछि निम्तिएको परिस्थितीलाई वार्ताद्वारा सल्ट्याइने बताए । 

‘नेपालसँग हाम्रो सम्बन्ध निकै गहिरो छ । दुबै देशबीचको सम्बन्ध सामान्य होइन र हामी रोटी–बेटीको सम्बन्धमा बाँधिएको छौं । दुनियाँको कुनै पनि शक्तिले यसलाई तोड्न सक्दैन,’ सिंहले भने । 

उनले भारतको रक्षाका लागि गोर्खा सैनिकले अदम्य साहस देखाएको भन्दै त्यसको तारिफ पनि गरे । 

उनले नेपाल र भारतबीच भौगोलिक र सामाजिक मात्रै नभएर आध्यात्मिक सम्बन्ध समेत रहेको औल्याए । ‘नेपालसँग हाम्रो भौगोलिक, ऐतिहासिक र सामाजिक सम्बन्ध मात्रै होइन आध्यात्मिक सम्बन्ध पनि छ । कसरी हामी पशुपतिनाथलाई बिर्सन सक्छौं ? कसरी बाबा अमरनाथ, सोमना र काशीबाट नेपाल अलग हुनसक्छ ? यो सम्बन्ध यस विश्वको होइन पुरै फरक विश्वको हो,’ उनले भने । 

८ मेइमा भारतका रक्षामन्त्री सिंहले नै भिडियो कन्फ्रेसिङमार्फत लिपुलेक सडकको उद्घाटन गरेपछि नेपाल र भारतबीच विवाद सुरु भएको थियो र त्यसको १० दिनपछि सरकारले जारी गरेको नक्सालाई गत शनिबार प्रतिनिधिसभाले सर्वसम्मतिले पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस