प्रधानमन्त्री ओली बैठकबाट किन डराउँछन् ?

सफल खबर संवाददाता

सोमबार, ०१ असार २०७७, ०९ : ०५
प्रधानमन्त्री ओली बैठकबाट किन डराउँछन् ?

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेकपाको पनि अध्यक्ष छन् । तत्कालिन एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकतापछि यो पार्टी जोर पाइलट अर्थात दुई अध्यक्षको नेतृत्वबाट चलिरहेको छ ।  दुवै अध्यक्षको कार्यविभाजन गत वर्ष मंसिर ४ मा सचिवालय बैठकले गरेको पनि हो । प्रधानमन्त्री ओलीले सरकार र अर्का अध्यक्ष प्रचण्डले पार्टीमा कार्यकारी भूमिका निर्वाह गर्ने गरी कार्यविभाजन भएको हो ।

तर व्यवहारतः नेकपामा कार्यविभाजन अनुसार नेताहरुले काम गरेका छैनन् । अर्थात भनौं प्रधानमन्त्रीले अर्का अध्यक्ष प्रचण्डलाई स्वतन्त्र ढंगले पार्टी चलाउन दिएका छैनन् । कुनै न कुनै रुपमा उनले पार्टीको लगाममा अंकुश लगाउने काम नै गरिरहेका छन् । अहिले पनि नेकपामा भएको यस्तै छ । तत्कालिन एमाले नेताहरु भन्छन्, प्रधानमन्त्री ओली आफु अनुकुल हुने गरी मात्र पार्टी बैठकमा सहभागी हुन्छन्, बैठकमा आफ्ना धारणा राख्छन् । अनुकुल भएमात्र बैठक फेस गर्ने उनको योजना देखिन्छ । 

अहिले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा कुनै न कुनै निर्णय लिनुपर्ने बाध्यतामा प्रधानमन्त्री छन् । उनी जसरी हुन्छ, एमसीसीसँगको यो सम्झौता सदनबाट अनुमोदन गरेर जानुपर्ने पक्षमा छन् । तर सचिवालयका बहुमत सदस्य, स्थायी समिति र केन्द्रीय समितिका अधिकाशं नेता जस्ताको तस्तै पारित गर्नै नहुने पक्षमा ढृढ छन् ।

असार १६ टाइमलाइन बनाएको छ, एमसीसीले सम्झौता अनुमोदनको । त्यो अवधीभित्र पारित गराईसक्न उसले नेपाल सरकारलाई दबाब बढाईरहेको  छ । ओली त्यही कारण पनि सम्झौता पारित गराउनै च्याख्खे दाउको खोजीमा देखिएका छन् । यसका लागि कसरी सचिवालयमा बहुमत पु¥याउने प्रधानमन्त्रीको मुख्य ध्यान नै अहिले त्यहीमा छ । उनले कहिले वामदेव गौतम कहिले रामबहादुर थापा (बादल) लाई एमसिसिमा मनाउने प्रयास गरिरहेका छन् ।

भलै उनी अहिलेसम्म गौतम र थापालाई मनाउन सफल भईरहेका छैनन् । जसकाकारण सचिवालयको आइतबारको बैठक पनि प्रधानमन्त्रीले अन्तिम समयमा स्थगित गरिदिए । आफुलाई धपेडी परेको भन्दै बैठक नै स्थगित गरिदिए । तत्कालिन एमालेतर्फका एक शीर्ष नेताले सफलखबरसँग भने, – यो प्रधानमन्त्रीको पहिले देखिकै बानी हो । आफु अनुकुल भए बैठक राख्ने, नभए टार्ने । ओलीले हिजो पार्टी बैठक टार्नुको मुल कारण पनि त्यही नै हो ।

नेकपाको सचिवालयमा एमसीसीको मुख्य एजेण्डा थियो । सचिवालयका ९ जना मध्ये ओली अल्पमतमा छन् । महासचिव विष्णु पौडेल र उपप्रधानमन्त्री समेत रहेका इश्वर पोखरेल मात्रले उनलाई साथ दिईरहेका छन्  । अन्य ६ नेता विपक्षमा छन् । आफु अल्पमतमा पर्नै र आफुले सोचे अनुसारको निर्णय नहुने भएपछि ओलीले बैठक टारेका हुन् । उनको यो पूरानै शैली हो, नेकपाका एक नेताले भने । वरिष्ठ नेता खनालले पनि पार्टी बैठक टार्ने काममा प्रधानमन्त्री आफु अल्पमतमै भएका कारण लागेका हुन् ।

ओलीले सचिवालयको बैठक नै एक साता यता दुई पटक अन्तिम समयमा सारिसके । अघिल्लो पटक प्रचण्डलाई समेत जानकारी नगराई एकतर्फी स्थगित गरिदिएका थिए भने हिजोको बैठक आफुलाई धपैडी भएको भन्दै टारिदिएका थिए । अब दुई अध्यक्षको छलफल पछि मात्र फेरि बैठक बोलाउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठक बोलाउनकै लागि बैठक गर्नुपर्ने गौलचक्करमा अहिले नेकपा ओलीका कारण फसेको छ ।
 

प्रतिक्रिया दिनुहोस