हवाई टिकट महँगो हुँदा विदेशीलाई मौका

पत्रपत्रिकाबाट

सोमबार, ०१ असार २०७७, ०७ : ३३
हवाई टिकट महँगो हुँदा विदेशीलाई मौका

फाईल फोटो

काठमाडौँ । सरकारले विदेशमा समस्यामा परेका नागरिकको उद्धार गर्न तोकेको हवाई भाडा महँगो हुँदा विदेशी विमानको उडान संख्या बढ्न सक्ने भएको छ ।

गत बुधबार उडान तालिकासहित टिकट मूल्य सार्वजनिक गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उद्धारको नाममा नेपाली विमान कम्पनीको व्यापार हेरेको भन्ने आरोप बढ्दै गएपछि स्वदेशीभन्दा विदेशबाट आउने विमानको टिकट शुल्क सस्तो पर्ने देखिएको हो ।

महिनौंदेखि विदेशमा रोजगारी गुमाएका र आममाफी पाएर क्याम्पमा बसेका मजदुरले तोकिएको भाडादरमा फर्कन सक्छन् कि सक्दैनन् अध्ययन नै नगरी स्वदेशी विमान कम्पनीलाई नाफा कसरी हुन्छ भन्ने हिसाबले भाडा तोक्दा सरकारको आलोचना बढेको छ ।

विदेशी वायुसेवा कम्पनीले सरकारले तोकेभन्दा निकै सस्तोमा नेपाल ल्याउन सक्ने जानकारी हुँदाहुँदै पनि नेपाली विमान कम्पनीलाई नै जिम्मा दिँदा एकातर्फ उद्धारमा विलम्ब भएको छ भने अर्कोतर्फ कामदारले टिकट लिनै ऋण लिनुपर्ने अवस्था आएको भन्दै विज्ञहरुले सरकारी रवैयामाथि प्रश्न उठाउन थालेका छन् । दुईपल्ट भाडा घटाउने ठाउँ हुँदाहुँदै पनि किन अध्ययन नै नगरी भाडा सार्वजनिक गरियो भन्ने प्रश्नको जवाफ सरकारी निकायसँगै छैन ।  

सरकारको उद्धार गर्ने हैसियत बुझेका केही मुलुकले आफ्नै खर्चमा नेपालीलाई घर पठाइसकेको र विदेशस्थित नेपाली नियोगले समेत सरकारले तोकेको भाडाभन्दा आधामै चार्टर्ड उडान गर्ने भनेपछि सरकारले कमिसनको पोल खुल्ने डरले भाडा दर घटाउन खोजे जस्तो गरेको जानकारहरुको आरोप छ । नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस