विपद्का बेला जथाभावी खर्च , भ्युटावर बनाउन ४० करोड

पत्रपत्रिकाबाट

सोमबार, ०१ असार २०७७, ०७ : १४
विपद्का बेला जथाभावी खर्च , भ्युटावर बनाउन ४० करोड

फाईल फोटो

काठमाडौँ । सरकारले राजस्व नउठेर खर्च धान्न मुस्किल परिरहेको जनाउँदै आए पनि अनावश्यक क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरेको पाइएको छ । त्यसका दुुई उदाहरण हुन्– प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा निर्माणाधीन २५ तले भ्युटावर बनाउने र सेनालाई सवारी साधन किन्ने बजेट । दमकको भ्युटावर निर्माणमा ४० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ भने नेपाली सेनाले १ सय ५० वटा सवारी खरिद गर्ने योजना अघि सारिएको छ ।

राष्ट्रिय योजना आयोगले तयार पारेको ०७७/७८ को वार्षिक विकास कार्यक्रम पुस्तिकामा सहरी विकास मन्त्रालयमार्फत कार्यान्वयन गर्ने गरी झापाको दमक र नुवाकोटको ककनीमा भ्युटावर बनाउने उल्लेख छ ।

‘साना आयोजना भएकाले रातो किताबमा बजेट विनियोजनको अंक उल्लेख गरिएको छैन,’ अर्थ स्रोतले भन्यो, ‘झापाको भ्युटावरलाई ४० करोड र नुवाकोट ककनीको भ्युटावरलाई ५० लाख रुपैयाँ बजेट विनियोजन भएको हो ।’ सेनाले खरिद गर्ने भनिएका सवारीसाधनको बजेट अंक भने खुलेको छैन । ‘एकमुुस्ट बजेटबाट पछि सेनाले नै विनियोजन गर्छ,’ अर्थ स्रोतले भन्यो ।

कोभिड–१९ संक्रमणले निम्त्याएको आर्थिक संकट रहेकाले यी दुवै कार्यक्रमलाई सरोकारवाला अधिकारीले आलोचना गरेका छन् । ‘यी कार्यक्रम सामान्य अवस्थामा समेत आवश्यक होइनन्,’ राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्दराज पोखरेलले भने, ‘अहिले कोरोना संक्रमण रोक्ने र राहत बाँडेर माग बढाई अर्थतन्त्रलाई गतिशील बनाउने बेला हो ।

तुरुन्तै प्रतिफल नदिने क्षेत्रमा कनीकनी जुटाएको सरकारी स्रोत प्रयोग गरिनु जनताप्रति सरकारको असंवेदनशीलता हो ।’ कान्तिपुर दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस