एमसीसी पास गर्न वामदेवलाई प्रधानमन्त्री ओलीको प्रस्ताव :  ‘उपप्रधान सहित अर्थमन्त्री’

सफल खबर संवाददाता

आइतबार, ३२ जेठ २०७७, ०९ : ४२
एमसीसी पास गर्न वामदेवलाई प्रधानमन्त्री ओलीको प्रस्ताव :  ‘उपप्रधान सहित अर्थमन्त्री’

काठमाडौं । नेकपा उपाध्यक्ष बामदेव गौतमलाई बेलाबेला अनेक पदको अफर बर्सिन्छ भन्दा अनौठो मान्नु नपर्ने भएको छ । अहिले फेरी गौतमका लागि अर्थमन्त्री पदको प्रस्ताव प्रधानमन्त्रीबट भएको छ । केपी ओली तिनै प्रधानमन्त्री हुन्, जसले गौतमलाई कहिले प्रधानमन्त्री, कहिले उपप्रधान तथा अर्थमन्त्री त कहिले अर्को कुनै पदको आकांक्षा जगाईरहेका छन् । तर उनलाई संविधानतः अहिलेको अवस्थामा मन्त्री, प्रधानमन्त्री बनाउन मिल्ने-नमिल्ने विषयमा भने कुनै बहस र चर्चा भएको पाइन्न ।

प्रधानमन्त्री पार्टी भित्र, त्यसमा पनि मुख्यतः ९ जना रहेको सचिवालय बैठकमा अल्पमतमा पर्ने भएपछि उपाध्यक्ष गौतमलाई फकाउनु ओलीले कम्मर कसेरै लाग्नु कुनै नौलो कुरा होइन । अहिले पनि गौतमलाई ओलीले पासा फालेका छन्,– उपप्रधान तथा अर्थमन्त्रीको प्रस्ताव सहित । गत आइतबार प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले गौतमलाई फकाउने प्रयास गरेका थिए । तर गौतमले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मा सहयोग गर्न नसक्ने प्रष्ट जवाफ दिएर फर्केका थिए ।

गत वैशाख १७ मा पार्टीभित्रै अध्यक्ष तथा प्रधानमन्त्री दुबै पदका लागि ओली असफल भईसकेको भन्दै पार्टीभित्रै उनको राजीनामाको विषयले प्रवेश पाएको थियो । त्यसबेला पनि ओलीले चतुरयाई पूर्वक आफु कोरोना संकट पार लगाएर पदबट राजीनामा दिने र त्यसपछि वामदेव गौतमलाई संसदमा ल्याई प्रधानमन्त्री बनाउने सम्मको आश्वासन फ्याके। त्यसपछि नै ओलीले त्यसबेला आफनो कुर्सी जोगाएका थिए ।

अहिले एमसीसी प्रकरणमा पनि ओली पार्टीभित्रै अल्पमतमा छन् । तर उनलाई एमसीसी अबको केही दिनभित्रै संसदबाट जसरी पनि पारित नगराई नहुने भएको छ । त्यसका लागि उनी सचिवालयमा कसरी बहुमत जुटाउन सकिन्छ भन्ने खेलमा लागेका छन् । त्यसका लागि पहिले जस्तै यसपटक पनि उनको नजरमा परेका छन्, पार्टीका दुई नेता वामदेव र रामबहादुर थापा (बादल) ।

बादल गृहमन्त्री समेत रहेका कारण सरकारले अगाडी बढाउने प्रस्तावमा असहमत हुन नसक्ने निश्कर्षमा ओली देखिएका छन् । त्यसका लागि सचिवालयमा ५ जना पु¥याउन उनले अहिले गौतम फकाउन खोजेका हुन् । त्यसका लागि उनले आफु निकट नेताहरुलाई वामदेव निवास पठाएर पनि अनेक कोसिस गरिरहेका छन् ।

तर यो समाचार तयार पार्दा सम्म गौतम प्रधानमन्त्री ओलीको प्रस्तावमा सहमत भईसकेका छैनन् । उनले आफुलाई उपप्रधानमन्त्री र अर्थमन्त्री बनाएमा इश्वर पोखरेलको ब्यवस्थापन कहाँ कसरी गर्न सकन्छि भन्दै प्रश्न उठाईरहेका छन् । अनि उनले प्रतिनिधीसभामा पराजित ब्यक्ति यही कार्यकालमा कसरी मन्त्री बन्न पाउने भन्ने सम्वैधानिक प्रश्न पनि उठाईरहेका छन् । तर प्रधानमन्त्री ओलीले राष्ट्रिय सभाको मनोनित एक सिटमा लैजाने र राष्ट्रिय सभा सदस्य भएपछि कुनै छेकबार नलाग्ने जस्ता तर्क गरेर गौतमलाई फकाउनै प्रयास गरिरहेका छन् ।

विगतमा पनि गौतमलाई प्रचण्डले पार्टीको संगठन विभागको प्रमुखमा प्रस्ताव गरेपछि गौतमलाई आफनो तिर तान्ने प्रयासका लागि ओलीले विद्यान संसोधन गरेरै उपाध्यक्ष बनाउने प्रस्ताव ल्याए । अहिले उनी उपाध्यक्ष बनिसकेका छन् । गौतमले पनि आफनो लाभहानी कहाँबाट लिन सकिन्छ र ? त्यसरी नै अगाडी बढ्न थालेका छन् । गत वैशाख १७ मा बन्न नसक्ने प्रधानमन्त्रीको प्रस्ताव ओलीले गर्दा त्यसको सम्भावनाको कुनै लेखाजोखा नगरी गौतम ओलीतिर ढल्किएका थिए ।

अहिले पनि के फेरि गौतम ओलीको प्रस्तावमा ओलीतिरै ढल्किएलान् ? उनी निकट एक नेताले भने, –‘अब भने गौतम कसैको उधारो आश्वासनमा फस्नु हुन्न ।’ एमसीसीका विषयमा पार्टीको कार्यदलले बनाएको प्रतिवेदनमा छलफल गर्न आज सचिवालय बैठक बोलाईएको छ । बैठकमा अध्ययन कार्यदलका सदस्य भीम रावल र प्रदीप ज्ञवालीलाई पनि आमन्त्रण गरिएको छ । जसकाकारण आजै कुनै निर्णयमा नेकपा पुग्न तिर त लाग्ने देखिन्न । तर पनि ओलीले यसमा पनि आफु बहुमतमा पुग्ने गरी कसरी जाने भन्ने रणनीतिमा ओली जुटेका देखिन्छन् ।

तर अब गौतमले के गर्छन् ? एमसीसीमा गौतम ले ओलीलाई साथ दिन्छन् , या परिमार्जन नगरी एमसीसी पारित गर्न हुन्न भन्ने नेताहरुकौ पक्षमा उभिन्छन् ? नेकपाका शीर्ष नेता देखि अन्यको चासो पनि गौतमको आगामी कदमतिर केन्द्रीत हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस