सरकारद्वारा कोरोना नियन्त्रण खर्च सार्वजनिक, कु्न शीर्षकमा कति खर्च ?

पत्रपत्रिकाबाट

शनिबार, ३१ जेठ २०७७, ०७ : ०५
सरकारद्वारा कोरोना नियन्त्रण खर्च सार्वजनिक, कु्न शीर्षकमा कति खर्च ?

काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपियाँ खर्चको विवरण सार्वजनिक गरेको छ  ।

कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि तथा स्वास्थ्य सामग्रीको खरिदमा सो खर्च भएको जनाइएको छ । नेपालमा पहिलो सङ्क्रमण आशङ्कामा सङ्कलन गरिएको स्वाब नमुना परीक्षणका लागि हङ्कङ पठाइएको थियो । गुणस्तरीय र व्यवस्थित प्रयोगशालाको अभाव रहेको अवस्थाबाट तीन महिनाको अवधिमा देशमा २० भन्दा बढी प्रयोगशाला सरकारले स्थापना गरिसकेको छ । भारतलगायत विभिन्न देशबाट आएका एक लाख ५८ हजार ५० जना नेपाली अहिले क्वारेन्टाइनमा रहेका छन् ।

अर्थ मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत स्वास्थ्य पूर्वाधार निर्माणमा मात्र ९८ करोड ५० हजार रुपियाँ खर्च भएको छ । यस्तै, औषधि र स्वास्थ्य सामग्री खरिदमा एक अर्ब ४९ करोड ७५ लाख ५० हजार, क्वारेन्टाइन व्यवस्थापनमा चार करोड १९ लाख ९८ हजार र अन्य विविध खर्चका रूपमा १३ करोड चार लाख ३१ हजार रुपियाँ खर्च भएको जनाइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा दुई अर्ब ७१ करोड २९ लाख ४७ हजार रुपियाँ निकासा भएकोमा अहिलेसम्म एक अर्ब ५८ करोड ५२ लाख ८३ हजार रुपियाँ खर्च भएको जनाइएको छ ।
त्यस्तै, रक्षा मन्त्रालयमा दुई अर्ब ३८ करोड ५९ लाख २७ हजार निकासा भएकोमा दुई अर्ब ४० करोड २४ लाख ५७ हजार रुपियाँ खर्च भएको मन्त्रालय स्रोतले जनाएको छ । जसमध्ये दुई अर्ब ३६ करोड ९५ लाख २७ हजार रुपियाँ औषधि तथा स्वास्थ्य सामग्री खरिदमा खर्च भएको जनाइएको छ । त्यस्तै, क्वारेन्टाइन निर्माणमा एक करोड २९ लाख रुपियाँ र विविध अन्य ३५ लाख रुपियाँ खर्च भएको छ ।

मन्त्रालयका अनुसार गृह मन्त्रालयमार्फत दुई करोड ४५ लाख ८८ हजार रुपियाँ खर्च भएको छ । त्यस्तै, परराष्ट्र मन्त्रालयमा ६५ लाख निकासा भएको पाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा छ करोड निकासा भएकोमा पाँच करोड २० लाख रुपियाँ खर्च भएको छ । त्यस्तै, सहरी विकास मन्त्रालयमा एक करोड ४२ लाख, प्रदेशका सामाजिक विकास मन्त्रालयहरू (सातै प्रदेश) मार्फत १५ करोड ७५ लाख रुपियाँ खर्च भएको जनाइएको छ । जसमध्ये सहरी विकास मन्त्रालयको बजेट क्वारेन्टाइन निर्माणमा खर्च भएको जनाइएको छ । त्यस्तै, प्रदेश सामाजिक विकास मन्त्रालयमार्फत स्वास्थ्य पूर्वाधार निर्माणमा १४ करोड र औषधि तथा स्वास्थ्य सामग्री खरिदमा एक करोड ७५ लाख रुपियाँ खर्च भएको जनाइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस