कोरोना अपडेट

प्रदेश २ :  १ हजार ६०० सङ्क्रमित, ३८१ जना निको भएर घर फर्किए

रासस

शुक्रबार, ३० जेठ २०७७, ०८ : ५९
प्रदेश २ :  १ हजार ६०० सङ्क्रमित, ३८१ जना निको भएर घर फर्किए

जनकपुरधाम । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या नियमितरूपमा थपिँदै बिहीबार एक हजार ६०२ पुगेको छ । पछिल्लो २४ घण्टामा २९ नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको हो । यस प्रदेशका रौतहटबाट १८, बाराबाट सात र महोत्तरीबाट चार गरी २९ थपिएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी गराउनुभयो ।

यस प्रदेशबाट पछिल्लो २४ घण्टामा ८२ सङ्क्रमित उपचारपश्चात निको भएर घर फर्केका छन् । सोअनुरुप रौतहटको गौर नगरपालिकास्थित गौर नर्सिङ क्याम्पसमा सञ्चालित आइसोलेसनाबाट बिहीबार चार महिलासहित १७ निको भएर घर फर्केका छन् । त्यस्तै गरुडा नगरपालिकामा नेपाल प्रहरी विद्यालयको आइसोलेसनकक्षबाट ईश्नाथ नगरपालिकाका तीन महिलासहित ४०, बोधीमाई नगरपालिकाका तीन, मौलापुर नगरपालिकाका चार, कटहरिया नगरपालिकाका तीन र राजदेवी नगरपालिकाका एक महिलासहित तीन जना निको भएर घर फर्केका छन् । अहिलेसम्म यस प्रदेशबाट ३८१ स्वस्थ्य भएर घर फर्किसकेका छन् ।

स्वाब र क्वारेन्टिनको अवस्था

यस प्रदेशमा ३० हजार ५४३ को स्वाब सङ्कलन गरिएकामा १३ हजार ८४२ को रिपोर्ट नेगेटिभ आएको छ भने १५ हजार ९९ जनाको स्वाबको रिपोर्ट आउन बाँकी रहेको छ । त्यस्तै १३ हजार ७१६ को आरडिटीबाट परीक्षण गर्दा ६३९ को रिपोर्ट पोजिटिभ र १३ हजार ७७ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।  यस प्रदेशमा ४२८ क्वारेन्टिनमा १८ हजार ८९४, होम क्वारेन्टिनमा आठ हजार ८१२ र आइसोलेसनमा ७०१ जना बसेका छन् ।

स्वाब सङ्कलन स्थगित

प्रदेश नं २ को विभिन्न जिल्लामा सङ्कलन गरिएको स्वाबमध्ये आधा जतिको परीक्षण परिणाम नआएकाले बिहीबारदेखि नयाँ स्वाबको सङ्कलन स्थगन गरिएको छ । प्रदेश नं २ सरकारले विभिन्न क्वारेन्टिनमा रहेका र शङ्कास्पद व्यक्तिको सङ्कलन गरिएको स्वाबमध्ये आधाको परिणाम आउन नसकेको प्रदेश नं २ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश नं २ मा हालसम्म ३० हजार ५४३ को स्वाब सङ्कलन गरेकामा १५ हजार ९९ जनाको स्वाबको परिणाम नआएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयका उपनिर्देशक एवं वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिनुभयो । अहिले प्रदेश नं २ का विभिन्न क्वारेन्टिनमा १८ हजार ८९४ छन् भने होमक्वारेन्टिनमा आठ हजार ८१२ रहेको बेलामा स्वाब परीक्षणमा भएको ढिलाइका कारणले हालका लागि स्वाब सङ्कलन रोकिएको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस