सीसीएमसीमा तीन मन्त्री थपिए

पत्रपत्रिकाबाट

शुक्रबार, ३० जेठ २०७७, ०८ : २८
सीसीएमसीमा तीन मन्त्री थपिए

काठमाडौँ । कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न सरकारले गठन गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को कामलाई लिएर व्यापक आलोचना हुन थालेपछि त्यसलाई थप प्रभावकारी बनाउन सरकारले सञ्चालन समितिमा तीन मन्त्रीलाई थप गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले अहिले सात मन्त्रालयका ६ मन्त्री रहेको उक्त सञ्चालन समितिमा कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई थप गर्ने निर्णय गरेको हो ।

सीसीएमसीले क्वारेन्टाइन व्यवस्थापन, विदेशबाट आउने नागरिकहरूलाई हवाई व्यवस्थापन, मुलुकका विभिन्न क्षेत्रमा कृषिजन्य वस्तुको बिक्रीवितरण लगायतको समन्वयमा कमजोरी गर्दा सरकारको आलोचना भइरहेको छ । त्यसकारण यी क्षेत्रसँग सरोकार राख्ने मन्त्रालयका मन्त्रीहरूलाई पनि सीसीएसमी सञ्चालक समितिमा राखिएको एक मन्त्रीले बताए ।

अहिले उक्त समितिको संयोजकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल छन् भने अन्य सदस्यहरूमा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडा, गृहमन्त्री रामबहादुर थापा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भरू र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल छन् । यसबाहेक प्रधानसेनापति पूर्णचन्द्र थापा र मुख्य सचिव लोकदर्शन रेग्मीसमेत समितिमा छन् । तीन मन्त्री थपिएसँगै अब उक्त समितिमा मन्त्रीको संख्या ९ पुगेको छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस