किन हुन्छ इन्टरनेट स्लो ?

पत्रपत्रिकाबाट

शुक्रबार, ३० जेठ २०७७, ०७ : २८
किन हुन्छ इन्टरनेट स्लो ?

काठमाडौँ । इन्टरनेट सेवा प्रदायकप्रति ग्राहकको कति धेरै गुनासो छ भनेर बुझ्न अन्त जानुपर्दैन । सेवा प्रदायकको फेसबुक पेजमा आउने कमेन्टमध्ये ८० प्रतिशतभन्दा बढी इन्टरनेटको स्पिड सुस्त भएको भन्ने गुनासो हुन्छन् । प्राय:ले मैले यति स्पिडको इन्टरनेट लिएको थिएँ । तर थोरै मात्र स्पिड किन छ भन्ने गुनासो गरेका हुन्छन् । उपभोक्ताले बारम्बार गुनासो गरिरहे पनि सेवा प्रदायक भने आफ्नोतर्फबाट कुनै समस्या नरहेको दाबी गरिरहन्छन् ।

इन्टरनेट स्लो हुनुमा कहिले सेवा प्रदायकको नेटवर्क त कहिले उपभोक्ताको राउटरको पनि समस्या हुन सक्छ । योबाहेक अन्य प्राविधिक पक्षले पनि हाम्रो इन्टरनेटको गतिलाई धेरै प्रभाव पारिरहेका हुन्छन् । इन्टरनेटको स्पिडमा राउटरको गुणस्तर, उपभोक्ताको चेतना, माग र आपूर्तिबीचको सन्तुलन एवं कन्टेन्टसहित धेरै पक्षले प्रभाव पारिरहेको हुन्छ ।

इन्टरनेट सेवा प्रदायकको दाबी छ– ८० प्रतिशत गुनासो उपभोक्ताको वाइफाई कनेक्टिभिटीसँग सम्बन्धित हुन्छन् । ‘हामीलाई आउने प्राय: गुनासो उपभोक्ताको वाइफाई कनेक्टिभिटीसँग सम्बन्धित हुन्छन्,’ इन्टरनेट सेवा प्रदायक वल्र्डलिंकका प्रमुख प्राविधिक अधिकृत समितजन थिङ भन्छन्, ‘भन्नलाई फाइबर इन्टरनेट भनिए पनि वाइफाईमा बढी समस्या आउने गरेको छ ।’

सेवा प्रदायकले फाइबर वा तारमार्फत राउटरसम्म इन्टरनेट क्वालिटी नियन्त्रण र प्रबन्ध गर्न सक्ने भए पनि राउटरपछिको मोबाइल वा ल्यापटपमा वाइफाई कनेक्टिभिटीमा आउने समस्या प्रबन्ध गर्न धेरै कठिन हुने थिङसहित धेरैको भनाइ छ । इन्टरनेटका उपभोक्तामध्ये सबैले घरमा मोबाइल वा ल्यापटपमा वाइफाईमार्फत इन्टरनेट प्रयोग गर्छन् । केबल धेरै कमले प्रयोग गर्छन् । नेपालमा प्राय: वाइफाई २.४ गिगाहर्ज फ्रिक्वेन्सीमा चल्छन् । यो नि:शुल्क फ्रिक्वेन्सी हो । यो प्रयोगका लागि अनुमति लिनुपर्दैन, जसले प्रयोग गरे पनि हुन्छ ।

‘धेरैजसो प्रयोगकर्ताले सुरुवाती समयमा इन्टरनेट ठीक थियो, अहिले किन समस्या आयो भनेर प्रश्न गर्नुहुन्छ,’ उनी भन्छन्, ‘तर यसको प्राविधिक पक्ष नबुझ्दा पनि सेवा प्रदायकलाई बढी दोष आइरहेको छ, सेवा प्रदायकले पनि उपभोक्तालाई यसबारे बुझाउन सकेका छैनन् ।’ कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस