मुख्यमन्त्री गुरुङद्वारा उपचार केन्द्रको निरीक्षण

रासस

बुधबार, २८ जेठ २०७७, २१ : ३८
मुख्यमन्त्री गुरुङद्वारा उपचार केन्द्रको निरीक्षण

काठमाडौं । तनहुँ जिल्लाका तीन जना कोरोना सङ्क्रमितको उपचार भइरहेको जिपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रको आज गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निरीक्षण गर्नुभएको छ । उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन र उपचार केन्द्रको वस्तुस्थिति बुझ्ने उद्देश्यले मुख्यमन्त्री गुरुङले उपचार केन्द्रको निरीक्षण गर्नुभएको हो ।

सो अवसरमा मुख्यमन्त्री गुरुङले स्वास्थ्य संस्थाको दिगो विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम त्यस विषय समेटिएको बताउनुभयो । मुख्यमन्त्री गुरुङले कोरोना सङ्क्रमितको उपचारमा ध्यान दिनेसमेत आग्रह गर्नुभयो ।

केन्द्रका निमित्त कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले  सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो । स्थानीयस्तरबाट सञ्चालित सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व गत वर्षको साउनबाट गिरिजाप्रसाद कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रमा हस्तान्तरण गरिएपछि सोही अस्पतालको भवनबाट उपचार केन्द्रको प्रशासनिक काम र स्वास्थ्य उपचारको सेवा सञ्चालन भइरहेको छ । 

अस्पतालमा तनहँुको शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पाका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउँछन् । दक्षिण एशियाकै उत्कृष्ट स्वासप्रस्वास उपचार केन्द्रको रुपमा स्थापना गर्न सरकारले नै केही वर्ष अघि पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको स्वासप्रस्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । 

प्रतिक्रिया दिनुहोस