संविधान संसोधन विधेयकमा संसोधन राख्न ७२ घण्टे समय दिइने

संसदमा आज सैद्धान्तिक छलफल शुरु हुने, काँग्रेसले नमानेका कारण संसोधनमाथी संसोधन राख्न ७२ घण्टाको समय पाइने

सफल खबर संवाददाता

मंगलबार, २७ जेठ २०७७, १० : ०२
संविधान संसोधन विधेयकमा संसोधन राख्न ७२ घण्टे समय दिइने

file photo

काठमाडौं । नेपालको अध्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सालाई संविधानको अनुसूचि ३ मा रहेको निशान छापमा संसोधन गर्न संसदमा आज देखि सैद्धान्तिक छलफल शुरु हुदैछ । जेठ ९ मा सरकारले संविधान संसोधनको प्रस्ताव संसदमा दर्ता गराएको थियो । राष्ट्रिय अखण्डता र सार्वभौमिकताको विषयसँग जोडिएको यो संसोधनमा सरकारले राष्ट्रिय सहमतिको खोजीका लागि १३ जेठमा सर्वदलीय बैठक बोलाएको थियो ।

बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रियताका विषयमा पक्ष विपक्षमा कोही नजानेमा आफु विस्वस्त रहेको भन्दै सर्वसम्मतीका साथ एकमतका रुपमा प्रस्तुत हुन अपिल गरेका थिए । त्यसपछि काँग्रेसले केन्द्रीय समितिबाट निर्णय लिने भन्दै समय माग्यो, मधेस केन्द्रीत दलले आफ्ना मागलाई पनि प्याकेजमै राखेर एकैपटक संविधान संसोधन गरेर जान प्रधानमन्त्रीसँग आग्रह गरे ।

त्यसपछि ओलीले काँग्रेसलाई छिटो निर्णय लिन भने, मधेस केन्द्रीत दललाई राष्ट्रियताको विषयमा अन्य विषय नजोडन आग्रह गरे । काँग्रेसले अहिले सरकारको प्रस्तावमा मतदान गर्ने निर्णय गरिसकेको छ । यसबीच दलहरुले गैर सरकारी विधेयकका रुपमा संविधान संसोधनका थप प्रस्तावहरु पनि संसदमा दर्ता भएको छ । काँग्रेसका मधेस केन्द्रीत सात जना सांसद, जनता समाजवादी पार्टी, नेमकिपा र राष्ट्रिय जनमोर्चाका सांसदहरुले गैर सरकारी विधेयकका रुपमा संविधान संसोधनका आ–आफना पार्टीले उठाउदै आएको मागलाई समेटेर प्रस्ताव संसदमा दर्ता गराएका छन् ।

पार्टीका सांसदहरुले दर्ता गराएको गै¥ह सरकारी विधेयकका विषयमा अहिले संसदमा छलफल अगाडी बढाईहाल्ने अवस्थामा सरकार छैन् । तर सरकारले पेश गरेको संसोधन प्रस्ताव जेठ १८ गते संसदमा पेश भएको थियो । त्यसमा आजै संसदमा सैद्धान्तिक छलफल गर्ने कार्यसूचि राखिएको छ । बजेट पारित गरेपछि सैद्धान्तिक छलफल प्रारम्भ गर्ने गरी कार्यसूचि बनाईएको हो । सत्तापक्षले दलहरुले आ–आफना संविधान संसोधन प्रस्ताव राखिसेको कारण फाष्ट ट्रयाकबाट संसदको नियमावली निलम्वन गरेर संविधान संसोधन गर्न काँग्रेस लगायतसँग प्रस्ताव गरेको थियो ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपाले राखेको यो प्रस्तावमा काँग्रेसले छोटो प्रक्रियाबाट अगाडी बढन तयार भएपनि संविधान संसोधन प्रस्तावमा संसोधन राख्न पाउने ७२ घण्टाको समयमा भने नियमावली निलम्बनमा सहमति जनाएन् ।

त्यसपछि अब सैद्धान्तिक छलफल पछि संविधान संसोधनको प्रस्तावमा संसोधन हाल्नका लागि ७२ घण्टाको समय दिने गरी प्रक्रिया अलिक लम्बिएको छ । अब ४, ५ दिन यसले लिने देखिएको छ । त्यसपछि मात्र संविधान संसोधन विधेयक संसदबाट पारित हुने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस