सरकारी वेबसाइटबाट संक्रमित सम्बन्धी तथ्याङ्क किन हटायो ब्राजिलले ?

एजेन्सी

आइतबार, २५ जेठ २०७७, १७ : २१
सरकारी वेबसाइटबाट संक्रमित सम्बन्धी तथ्याङ्क किन हटायो ब्राजिलले ?

एजेन्सी । सरकारी वेबसाइटबाट संक्रमित सम्बन्धी सबै तथ्याङ्क हटाएको ब्राजिलले अबदेखि हरेक २४ घन्टामा संक्रमित र मृत्यु भएका व्यक्तिको मात्र तथ्याङ्क सार्वजनिक गर्ने भएको छ । देशभर मृत्यु भएका कुल संक्रमित र मृतकको तथ्याङ्क सार्वजनिक गरिने छैन ।

राष्ट्रपति जायर बोलसोनारोले कोरोना महामारीको नियन्त्रण गर्न नसकेको भन्दै चर्को आलोचना भएपछि ब्राजिलले सरकारी वेबसाइटबाट संक्रमित सम्बन्धी सबै तथ्याङ्क हटाएको हो ।

ब्राजिल हाल विश्वमै धेरै कोरोना संक्रमित भएको दोस्रो देश बनेको छ । ब्राजिलमा पछिल्लो समय दैनिक एक हजार जनाभन्दा धेरैले ज्यान गुमाउँदै आएका छन् ।

हालसम्म ब्राजिलमा ६ लाख ७६ हजार ४९४ संक्रमित छन् भने ३६ हजार ४४ भन्दा बढीले कोरोना भाइरसका कारण ज्यान गुमाइसकेका छन् ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओले दिएको लकडाउनको सुझाबलाई समेत राष्ट्रपति बोलसोनारोले अस्वीकार गरेका छन् । उनले संक्रमित र मृतकको कुल तथ्याङ्कले हालको स्थितिको चित्रण नगर्न बताउँदै आएका छन् ।

पहिलो स्थानमा अमेरिका, भारत छैठौंमा
कोरोना संक्रमित र मृतकहरुको संख्याको आधारमा विश्वमा अमेरिका सबैभन्दा अगाडि छ । इटालीलाई उछिनेर भारत छैठौं स्थानमा आएको छ । भारतले वेलायत र वेलायतले स्पेनलाई पछ्याइरहेका छन् । वेलायत पाँचौं, स्पेन चौथो र रसिया तेस्रो स्थानमा छन् ।