रुकुम घटना : गाउँलेले कुटिरहे, प्रहरी हेरिरह्यो

पत्रपत्रिकाबाट

आइतबार, १८ जेठ २०७७, ०७ : ३०
रुकुम घटना : गाउँलेले कुटिरहे, प्रहरी हेरिरह्यो

काठमाडौं । प्रेमिकाले ‘मलाई लिन आऊ, नभए अर्कै केटासित मेरो विवाह गरिदिन लागेका छन्’ भन्ने म्यासेज नगरिदिएको भए जाजरकोटका नवराज विश्वकर्मा लकडाउनका बेला भेरी नदी तरेर पल्लो गाउँ जान हतारिने थिएनन् । प्रेमिकालाई घर भित्र्याउने सपना साँचेका उनी भेरी त तरे तर प्रेमिकाको हात समाएर घर फर्कन पाएनन् । आफ्ना पाँच साथीसहित उनी भेरीमै विलिन भए । 

२०७७ जेठ १० गते रुकुमपश्चिमको सोतीगाउँकी ती किशोरीले नवराज विश्वकर्मालाई सम्पर्क गरिन् । आफ्नो परिवारले अर्कै केटासँग विवाह गराउन लागेको तर आफूले स्वीकार नगरेको बताउँदै आफूलाई लिन साथीहरूसहित आउन आग्रह गरिन् । नवराजले १९ जना साथीहरूलाई साताअघि नै छिट्टै प्रेमिकालाई भगाएर ल्याउने योजना बनाएको भन्दै सघाउन सहयोग मागेका थिए । तर पछिल्लो म्यासेज आएपछि उनीसँग कुर्ने धैर्य भएन ।

खलंगाको रानागाउँबाट १० जना दिउँसो १२ बजेतिर रुकुम जान निस्किए । उनीहरू दुई घण्टामा भेरी नदी किनारको धल्ला भन्ने ठाउँमा पुगे, जहाँ अन्य ९ जना साथीहरू पर्खिरहेका थिए । घाइते सुदीप खड्काका अनुसार १९ जनाको टोली करिब डेढ घण्टासम्म सोही ठाउँमा अलमलियो । साढे ३ बजेतिर उनीहरू नवराजकी प्रेमिकाको गाउँ सोतीतिर लाग्यो । करिब ५ बजेतिर घरनजिकै पुगे ।

जाजरकोटको खलंगाबाट कालेगाउँनजिकैको झोलुंगे पुल हुँदै सोती पुग्ने छोटो बाटो भए पनि नवराज र उनका साथीहरू अलि तल पर्ने चौरजहारी नजिकैबाट घुमेर युवतीको गाउँ गएको देखिन्छ । त्यहाँ नवराजको टोलीमा अरू केही साथी थपिए भने त्यहाँबाट केही माथिको मटेला पुलनजिकै अरू पनि मिसिए । त्यसपछि करिब एक/डेढ घण्टा उकालो हिँडेर उनीहरू युवतीको घरनजिकै पुगे । कान्तिपुर दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस